सय वर्षभन्दा पहिले यसरी शुरु गरिएको थियो नेपालमा टेलिफोन सेवा



काठमाडौं : नेपालको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत बुधवार १६औँ वार्षिक उत्सव मनायो।

नेपाल टेलिकमका रूपमा चिनिएको र ९० प्रतिशतभन्दा बढी सरकारको स्वामित्व रहेको कम्पनीले १६औँ वार्षिक उत्सव मनाए पनि यो कम्पनी १६ वर्ष मात्र पुरानो भने होइन।

सरकारले सर्वसाधारणलाई शेअर बिक्री गर्ने निर्णय गरेर सरकारी स्वामित्वबाट पब्लिक कम्पनीमा रूपान्तरण भएपश्चात्‌को समय गणना गरेर १६औँ वार्षिक उत्सव मनाइएको हो।

टेलिकमले आफ्नो वार्षिक उत्सव मनाइरहँदा नेपालमा टेलिफोन सेवाको सुरुवात भएको भने १ सय ३ वर्षभन्दा बढी भइसकेको छ।

नेपालमा टेलिफोन, आकाशवाणीजस्ता सेवा सुरु भएपछि तीनको व्यवस्थापन र सञ्चालनका लागि सरकाले बनाएको निकायकै विकास भएर अहिलेको टेलिकम बनेको इतिहासकारहरूले लेखेका छन्।

नेपालमा टेलिफोन सेवा सुरुवात

नेपालमा टेलिफोन सेवा कहिलेदेखि सुरु भएको थियो भन्नेबारे विवाद कायमै रहेको छ।

धेरैजसो पुस्तकहरू तथा विभिन्न सन्दर्भ सामग्रीहरूमा नेपालमा विसं १९७० बाटै टेलिफोन सेवा सुरु भएको लेखिएको पाइन्छ।

सरकारले बनाएका योजनाहरू तथा नेपाल टेलिकमले प्रकाशित गरेका स्मारिका र क्यालेन्डरहरूमा विसं १९७० देखि नेपालमा टेलिफोन सेवा सुरु भएको लेखिने गरेको थियो।

टेलिफोन

तर नेपाल टेलिकमले २०७२ सालमा प्रकाशित गरेको ‘नेपालमा दूरसञ्चार सेवाको इतिहास’ पुस्तकमा भने पहिलो पटक नेपालमा टेलिफोन सेवाको सुरुवात विसं १९७३ सालमा भएको भनी किटान गरियो।

नेपाल टेलिकमका पूर्व तथा वर्तमान ८ जना कर्मचारीहरू लेखक रहेको उक्त पुस्तकका सम्पादक इतिहासका प्राध्यापक भवेश्वर पंगेनी हुन्।

त्यस अघि लेखिकएको भन्दा भिन्न मिति उक्त पुस्तकमा लेखिनुको कारणबारे सम्पादक पंगेनी भन्छन्, “त्यसअघि जेजति सन्दर्भ सामग्रीहरूमा विसं १९७० सालमा टेलिफोन आएको हो भनी लेखिएको छ त्यसलाई पुष्टि गर्ने प्रामाणिक आधार भेटिएन। त्यसैले कागजी प्रमाणहरू भेटिएका कुरालाई मात्र आधार मानेर उक्त मिति तय गरिएको हो।”

उनका अनुसार उक्त पुस्तक लेखन तथा सम्पादनका क्रममा पटकपटक भएका छलफलहरूमा विसं १९७० सालको उल्लेख भए पनि प्रमाणको अभावमा नेपालमा टेलिफोन भित्रिएको मितिका रूपमा १९७३ साल कामय भएको हो।

उक्त पुस्तकको लेखक मण्डलका एकजना लेखक दिनेश रेग्मीका अनुसार गोर्खापत्रमा प्रकाशित समाचारलाई आधार मानेर विसं १९७३ सालमा नेपालमा टेलिफोन आएको भन्ने विवरण राखिएको हो।

उनले भने, “हामीले त्यसबेला गोर्खापत्रमा प्रकाशित सामग्री हेर्‍यौँ त्यो भन्दा गतिलो आधार अरू के होला र? त्यसैले हामीले उक्त मिति परिमार्जन गरेका हौँ। यो हामीले भेटका तथ्यहरूका आधारमा लेखिएको हो यसबारे थप अध्ययन र अनुसन्धान भएमा अन्य तथ्यहरू पनि आउन सक्छन्।”

उनले खड्ग निशान अड्डा र निजामति सिटरोलको विवरण आधारमा पनि विसं १९७३ को मात्र प्रमाणित गर्न सकिएको बताए।

तर उक्त पुस्तमै नेपालमा त्यसअघि पनि फाट्टफुट्ट टेलिफोन वा टेलिग्राम सेवा चलाइएको भन्ने देखिएको उल्लेख छ।

टेलिफोन

पुस्तकमा लेखिएको छ, “लैनचौरमा रेजिडेन्सी (ब्रिटिश) स्थापना गरिएको केहीपछि बेलायतले आफ्नो देशमा खबर आदानप्रदान गर्नका लागि टेलिग्राम सेवाको व्यवस्था गरेको पाइन्छ।”

“ब्रिटिश रेजिडेन्सीमा सेवा सञ्चालमा आएको थियो भन्ने कुरा विभिन्न सामग्रीमा उल्लेख पाइएता पनि यो सेवाका लागि के कस्ता प्रविधि तथा उपकरण जडान गरिएका थिए भन्ने जानकारी भने फेलापरेका छैनन्।”

सिकार खेल्ने जङ्गलमै टेलिग्राम

तत्कालिन राणा शासक चन्द्रशमशेरको निमन्त्रणामा ब्रिटिश सम्राट जर्ज पञ्चमले चितवनको ठोरी जङ्गलमा सिकार खेल्न आउँदा टेलिग्राम प्रयोग भएको उल्लेख विभिन्न स्रोतहरूमा पाइएको पुस्तकमा उल्लेख छ।

जर्ज पञ्चम विसं १९६८ पुसमा सिकार खेल्नका लागि भारतको रक्सौल हुँदै चितवन आइपुगेका थिए।

उनलाई निम्ता दिने चन्द्रशमशेरले त्यहाँ उनका लागि भव्य शिविर र अतिथिगृह समेत निर्माण गरेको विभिन्न इतिहासकारहरूले लेखेका छन्।

त्यसबेला ठूलो सङ्ख्यामा बाघ र गैँडाजस्ता जनावर मारिएको भन्दै संरक्षणविद्हरूले अहिलेसम्म पनि आलोचना गर्ने गर्छन्।

टेलिफोन

उक्त सिकार कार्यक्रमका लागि त्यहाँ बनाइएको शिविर र अतिथिगृहमा भारतको रक्सौलबाट तार टाँगेर बिजुली ल्याइएको इतिहासकारहरूले लेखेका छन्।

गैँडाबारे विभिन्न खाले जानकारीहरू राख्ने ‘राइनो रिसोर्स सेन्टर’को आधिकारिक वेबसाइटमा उपलब्ध तीनजना लेखकहरूले लेखेको एउटा अनुसन्धानात्मक लेखमा पनि उक्त शिविरमा बिजुली र टेलिग्राम भएको उल्लेख छ।

त्यसमा लेखिएको छ, “उक्त शिवरमा राजाका लागि विद्युत सुविधा सहितको एउटा बङ्गलो निर्माण गरिएको थियो। त्यसलाई वरिपरिबाट उनको टोलीका सदस्यहरू रहने पालघरहरूले घेरेको थियो। …. अस्पताल, लुगा धुने स्थान, हुलाक तथा टेलिग्राफ कार्यालयजस्ता सहायक सुविधा दिनका लागि उक्त शिविरको तारबार बाहिर सानासाना पालघरहरू बनाइएका थिए।”

विभिन्न सामग्रीहरूमा भेटिएका यस्तै विवरणका आधारमा कतिपयले इतिहासकारले काठमाण्डूमा आइपुग्नु पहिले नै चितवनमा टेलिफोन सेवा पनि आइपुगेको ठान्ने गरेका छन्।

तर जर्ज पञ्चम फर्केपछि त्यहाँ ल्याइएको टेलिफोन र बिजुली लाइन विच्छेद गरिएको हुनसक्ने उनिहरूको अनुमान छ।

बिजुलीपछि टेलिफोन

विसं १९६८ सालमा काठमाण्डू नजिकै फर्पिङमा जलविद्युत आयोजना सञ्चालनमा आएपछि मात्र काठमाण्डूमा टेलिफोन ल्याउने कसरत भएको विभिन्न लिखित सामग्रीहरूमा उल्लेख भएको पाइन्छ।

चन्द्रशमशेरले विसं १९६८ साल जेठमा टुँडिखेलमा एउटा समारोहको आयोजना गरी फर्पिङ जलविद्युत आयोजनाको तत्कालित राजा पृथ्वीवीर विक्रम शाहद्वारा उद्घाटन गराएका थिए।

त्यसक्रममा चन्द्रशमशेरले दिएको मन्तव्य विसं १९६७ साल जेठ २३ गतेको गोर्खापत्रमा छापिएको थियो।

त्यसैलाई आधार मानेर धेरै इतिहासकारले काठमाण्डूमा बिजुली आएका दुई वर्षपश्चात् टेलिफोन पनि आएको लेखेको हुनसक्ने पंगेनी ठान्छन्।

ब्रिटिश इन्जिनियरको प्रयोग

फर्पिङको जलविद्युत निर्माणका लागि ब्रिटिश इन्जिनियरहरूको पनि प्रयोग गरिएको थियो।

उक्त आयोजना निर्माणमा मुख्य इलेक्ट्रिकल इन्जिनियर बार्नाउ प्याउटे रहेको चन्द्रशमशेरले आफ्नो मन्तव्यमा पनि उल्लेख गरेका छन्।

टेलिफोन

त्यस्तै अर्का इन्जिनियरको नाम भने चन्द्रशमशेरले लिञ्ज भनेर उल्लेख गरेका छन्।

ती दुईमध्ये बर्नाउ पुअन्टलाई नेपालमा टेलिफोन सेवा ल्याउन पनि प्रयोग गरिएको पाइन्छ।

त्यसलाई पुष्टि गर्दै इतिहासकार पंगेनी भन्छन्, “उनी नेपालमा लामै समय बसेको देखिन्छ। त्यसबेला राणा परिवारभित्रैका इन्जिनियरहरूले फर्पिङ आयोजना बनाउन महत्त्वपूर्ण भूमिका खेलका भए पनि उनीहरूलाई स्वामित्त्व दिनुभन्दा ब्रिटिशलाई दिनका निम्ति बार्नाउलाई नेपाल बोलाइएको देखिन्छ।”

हुनत त्यसअघि नै वीरशमशेरका पालामा पनि ब्रिटिश इन्जिनियरलाई नेपालमा ल्याइएको पाइन्छ।

जोन ह्वेवल्पटनको ‘अ हिस्ट्री अफ नेपाल’मा उल्लेख भए अनुसार वीरशमशेरले काठमाण्डूमा पाइपबाट वितरण गरिने खानेपानी सेवाको सुरु गर्न ब्रिटिश इन्जिनियरहरू झिकाएका थिए।

नाङ्गो तारको सेवा

पंगेनी सम्पादक रहेको उक्त पुस्तकका अनुसार विसं १९७३ सालमा वीरगञ्जबाट काठमाण्डूसम्म नाङ्गो तार टाँगेर टेलिफोन लाइन विस्तार गरिएको थियो।

वीरगञ्जसम्म भारतको रक्सौलबाट ल्याएर त्यहाँबाट काठमाण्डूतर्फ टेलिफोन बिस्तार गरिएको इतिहासकारहरूको मत छ।

गोर्खापत्रमा प्रकाशित समाचारलाई उदृत गर्दै त्यसलमा लेखिएको छ, “काठमाण्डूको टुँडिखेलदेखि वीरगञ्जसम्म ७२ माइल (११५ किलोमिटर) काठको खम्बामा तामाको नाङ्गो तार तानी टेलिफोन सेवा सुरु गरिएको उल्लेख छ।”

टेलिफोन

उक्त कामका लागि विशेषज्ञका रूपमा ब्रिटिश इन्जिनियर बर्नाउ पुअन्टलाई लगाइएको पुस्तकमा लेखिएको छ।

काठमाण्डूमा टेलिफोन ल्याइएपछि टुँडिखेल नजिक पश्चिमपट्टि टेलिफोन अफिस खडा गरिएको विभिन्न सन्दर्भ सामग्रीहरूमा भेटिएको पुस्तकमा उल्लेख गरिएको छ।

नाङ्गो तारमा सञ्चालन हुने उक्त पुरानो प्रविधिलाई ‘ओपन वायर म्याग्नेटो’ भन्ने गरिन्थ्यो।

काठमाण्डूबाट वीरगञ्जसम्म तार टाँग्नका लागि थानकोट, चिसापानीगढी, भीमफेदी भैँसे, हेटौँडा, अमलेखगञ्जको बाटो रोजिएको थियो।

उक्त टेलिफोन सेवाको विशेषताबारे पुस्तकमा यस्तो लेखिएको छ, “यस प्रविधिमा खम्बाखम्बामा नाङ्गो तार तानी ठाउँठाउँमा टेलिफोन जडान गरिएको थियो र घण्टीको सङ्ख्याका आधारमा टेलिफोन रिसिभर उठाउनु पर्दथ्यो।”

सर्वसाधारणलाई खुला

काठमाण्डूमा टेलिफोन सेवा सुरु गरिएपछि पनि सुरुमा यो राजा र राणाहरूले मात्र प्रयोग गर्न पाउँथे।

विसं १९७४ जेठ १ गतेदेखि भने सर्वसाधारणका लागि टेलिफोन सेवा प्रयोग गर्न पाउने व्यवस्था गरिएको पंगेनी बताउँछन्।

उनीद्वारा सम्पादित पुस्तकमा पनि गोर्खापत्रमा प्रकाशित समाचारलाई उदृत गर्दै सोही कुरा उल्लेख गरिएको छ।

चन्द्रशमशेरका पालामा सुरु भएकाले टेलिफोन सेवालाई ‘श्री चन्द्र टेलिफोन’ भन्ने गरिन्थ्यो।

उक्त पुस्तकमा उल्लेख भए अनुसार त्यसबेला टेलिफोनको महसुल तिरेपछि ‘श्री चन्द्र टेलिफोन’कै नाममा रसिद समेत जारी हुने गरेको थियो।

चन्द्रशमशेरले टेलिफोन सेवा सुरु गर्नुको कारण

इतिहासकारहरूका अनुसार चन्द्रशमशेर पश्चिमी शिक्षा लिने राणा प्रधानमन्त्रीमध्येमा पर्थे।

उनले तत्कालिन ब्रिटिश इन्डियाको कोलकातामा बसेर म्याट्रिकुलेसन गरेका थिए।

त्यसैबेला उनले पश्चिमी विकासका केही झलकहरू देखिसकेको इतिहासकारहरूले लेखेका छन्।

टेलिफोन

सिंहदरबार पुस्तकका लेखक सागरशमशेर राणाले पनि चन्द्रशमशेरमा आधुनिक विकासको मोह रहेको उल्लेख गरेका छन् भने पुरुषोत्तमशमशेर राणाले श्री ३ हरूको वृतान्तमा पनि त्यस्तै ढङ्गले चित्रित गरेका छन्।

तर चन्द्रशमशेरले नेपालमा टेलिफोन सेवा सुरु गर्नुमा उनको आधुनिक विकासप्रतिको मोह मात्र कारण भने नभएको कतिपयको धारणा रहेको छ।

उनीहरूका तर्कमा त्यसबेल पहिलो विश्वयुद्ध सुरू भएको थियो र नेपालबाट ठूलो सङ्ख्यामा नेपाली सेना ब्रिटेनको सहयोगार्थ पठाइएको थियो।

आवश्यक पर्ने थप सेनाबारे तत्कालै जानकारी लिन वा माग गर्नका लागि पनि ब्रिटिशहरूले नेपालसँग द्रुतखाले सञ्चार सम्पर्क स्थापित गर्न चाहन्थे।

त्यसैको पूर्तिका लागि ब्रिटिशहरूकै इच्छामा टेलिफोन लाइन नेपालसम्म विस्तार भएको हुनसक्ने कतिपयको तर्क रहने गरेको छ।

इतिहासकार पंगेनी पनि ब्रिटिशकै कारण नेपालमा टेलिफोन भित्रिएको हुनसक्ने ठान्छन्।

उनी भन्छन्, “चन्द्रशमशेर ब्रिटेन भ्रमणमा पनि गएका थिए। त्यसबेला उनीहरूले चन्द्रलाई तिम्रो देशमा बिजुली छैन, टेलिफोन छैन, विश्वविद्यालय छैनन् जस्ता कुरा गरे होलान्। त्यसको प्रभाव परेर नै उनले नेपालमा विद्युत, टेलिफोन, सडक र शिक्षालयहरूको स्थापना गरेको हुनुपर्छ।” बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्