टी–२० महिला क्रिकेट : नेपाल फिल्डिङ गर्दै



काठमाडौं : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र थाइल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ । 

यसअघिका तीनै खेलमा लगातार जित निकालेको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको थाइल्याण्डलाई हराए समूह विजेताको रूपमा समिफाइनल पुग्नेछ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन् । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएईले चार खेलबाट ६ अङ्क जोडेको छ। अङ्क तालिकामा युएई शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले र तेस्रो खेलमा युएइलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्