टी–२० महिला क्रिकेट : नेपालले पायो २० रनको लक्ष्य 



काठमाडौं : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले २० रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्ड १५.४ ओभरमा सबै विकेट गुमाउँदै १९ रनमै समेटियो । 

नेपालकी आरती बिडारीले ३ तथा सरिता मगर र  इन्दु बर्माले २–२ विकेट लिए । त्यस्तै रूविना क्षेत्री र सोनु खड्काले १–१ विकेट लिए ।

थाइल्याण्डका ५ खेलाडी शून्यमा आउट भए ।

यसअघिका तीनै खेलमा लगातार जित निकालेको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको थाइल्याण्डलाई हराए समूह विजेताको रूपमा समिफाइनल पुग्नेछ ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन् । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएईले चार खेलबाट ६ अङ्क जोडेको छ । अङ्क तालिकामा युएई शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले र तेस्रो खेलमा युएइलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्