नेपालको लगातार चौथो जित, थाइल्याण्ड ९ विकेटले पराजित



काठमाडौं : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले हराएर समुह विजेता बनेको हो । 

थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा भेट्टायो । नेपालका लागि ममता कुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापाले ५ र डोली भट्टले २ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्ड १५.४ ओभरमा सबै विकेट गुमाउँदै १९ रनमै समेटिएको थियो । नेपालकी आरती बिडारीले ३ तथा सरिता मगर र  इन्दु बर्माले २–२ विकेट लिए । त्यस्तै रूविना क्षेत्री र सोनु खड्काले १–१ विकेट लिए ।

थाइल्याण्डका ५ खेलाडी शून्यमा आउट भए ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका थिए । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लागेको हो । 

जारी प्रतियोगितामा चार वटै खेल जितेको नेपालको ८ अङ्क भएको छ भने युएईको चार खेलबाट ६ अङ्क छ । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले र तेस्रो खेलमा युएइलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्