चीनले रोप्यो चन्द्रमामा बिरुवा



काठमाडौं: चीनको अन्तरिक्ष अभियान चांग'अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो । मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ । यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ । 

चीनको चांग'अ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो । उक्त यान गत ३ जेनुअरीका दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो ।

चांग'अ ४ अन्तरिक्ष यानले आफ्ना साथ कपास र आलुको बीउ चन्द्रमामा लिएर गएको थियो । तर चन्द्रमामा नियन्त्रित वातावरणमा बिरुवा उमारिएको भने यो पहिलो पटक हो । चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्था, ‌साढे दुई वर्ष समय लाग्ने मङ्गल ग्रहतर्फको यात्रा जस्ता भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि निकै महत्त्वपूर्ण हुनसक्छ । 

यो सफलताको अर्थ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो । त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा प्राप्त गर्न बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन । चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष वाहनले आफ्नो साथमा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लगायतका वस्तु लिएर गएको थियो । 

त्यसरी उम्रिएको बिरुवा सो चन्द्र वाहनमा बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा राखिएको छ । अब उक्त बिरुवाले त्यस्तो भाँडाभित्र एक सूक्ष्म जैविक मण्डलको सिर्जना गर्नेछ र त्यस्तो कृत्रिम वातावरणमा त्यो आफै हुर्कनेछ । १८ सेन्टिमिटर अग्लो र ३ केजी तौल भएको त्यस्तो कृत्रिम जैविक मण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए । 

उक्त प्रयोगात्मक भाँडामा सूक्ष्म जीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ । तर वैज्ञानिकहरूका अनुसार माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म उतारचढाव भइरहने चन्द्र सतहको तापक्रममा बिरुवा हुर्कनलाई उपयुक्त हुने तापक्रम कायम राख्‍नु सबैभन्दा ठूलो चुनौती हो । बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्