कर्मचारी आन्दोलनमा ट्रेड युनियन काँग्रेसको समर्थन



जनकपुरधाम : प्रदेश २को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई  आर्थिक मामिला तथा  योजना मन्त्री विजय यादवले थप्पड हानेको विषयलाई लिएर कर्मचारीहरूले गरेको आन्दोलनप्रति ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति धनुषाले ऐकबद्धता जनाएको छ । 

समितिका  अध्यक्ष महावीर दासले प्रेस विज्ञप्ति जारी गर्दै सचिव कुट्ने मन्त्री माथि  कडा कारबाहीको माग गरेका छन् । विज्ञप्तिमा कार्यस्थलमा कर्मचारीलाई सुरक्षित अनुभूति हुने गरी कामकाजको वातावरण बनाउन सम्बन्धित पक्षसँग माग गरिएको  छ । 

ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति धनुषाले दोषीलाई कारबाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

गत आइतबार फाइल लिएर कार्यकक्षमा पुगेका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै मन्त्री यादवले थप्पड हानेका थिए । 

सङ्घीय सरकारका सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्