डा. गोविन्द केसीलाई थप उपचारका लागि धरान लैजाने तयारी



इलाम : अनशनका क्रममा बिरामी भएपछि इलाम अस्पतालमा भर्ना गरिएका डा. गोविन्द केसीलाई थप उपचारका लागि धरान लैजाने तयारी गरिएको छ । 

सुईमार्फत एन्टिबायोटिक दिन थालेपछि तत्काललाई थप जटिलता टरे पनि डा. केसीलाई कुनै पनि बेला आईसीयूमा राख्नुपर्ने खतरा भने बाँकी नै रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वृजेन्द्रकुमार साहले बताए । तर इलाम अस्पतालमा आईसीयू सुविधा नभएकाले उक्त सुविधाका लागि इलाम बाहिर लानुपर्ने अवस्था छ ।

यसैबीच डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १ नम्बर प्रदेश प्रदेश स्वास्थ्य निर्देशनालयले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई तयारी अवस्थामा राखेको छ । उनको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित भेन्टिलेटर तयारी अवस्थामा राखिएको विपी प्रतिष्ठानले जनाएको छ ।

‘तर डा. केसी बाहिरको अस्पतालमा नजाने अडानमा हुनुहुन्छ,’ डा. साहले भने, ‘यसबारे हामी अफिसियल छलफल गर्दैछौं । दुई/तीन घण्टामा केही जानकारी आउला ।’

विपी प्रतिष्ठानको चिकित्सक टोली इलाम नै आउने कि डा. केसीलाई धरान लैजाने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्