केन्द्रीय कारागारभित्र ३० शैयाको अस्पताल सञ्चालन



काठमाडौं : नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शैयाको अस्पताल सञ्चालनमा आएको छ । 

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । 

कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । 

अस्पतालका शाखा अधिकृत सुनिता घिमिरेका अनुसार कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्न शैया थप गरिएको हो । “दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ”, उनले भने । 

तीस शैयाको अस्पतालमा विभिन्न रोगका सात विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ । 

केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी छन् । केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ । तीनवटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको छ । 

अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठ कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउँछन् ।

पन्ध्र शैयाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० शैयाको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको छ । उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन् । 

अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरिएको छ । “रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ”, श्रेष्ठले भने ।  

कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । 

अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ । साँघुरो ठाँउ र धेरै कैदीबन्दी राख्दा त्यस्ता रोग बढी देखिएको चिकित्सकले बताएका छन् ।  

दैनिक ८० देखि १०० बिरामीको उपचार गरिरहेको कारागार अस्पतालमा मङ्सिरमा ४७३ पुरुष र ७२ महिला कैदीबन्दीको उपचार गरिएको छ । आव २०७४÷७५ मा ३२ हजार कैदीबन्दीको उपचार गरिएको थियो । 

केन्द्रीय कारागार अस्पतालका बिरामीबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको समेत उक्त अस्पतालले उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ । 

अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले ११औँ तहको दरबन्दी र चिकित्सक माग गरेको छ । यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउनका लागि माग गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबीसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्