आठौँ राष्ट्रिय खेलकूदको प्रतिक्षामा नेपालगञ्जवासी



नेपालगञ्ज : नेपालगञ्जका खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा छन् । 

पूर्वको विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा गर्न सक्ने आँट र साहसका साथ झण्डा ग्रहण गरेका मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीलगायत नेपालगञ्जका सबै पक्ष अहिले युद्धस्तरमा खेलकूदको भौतिक पूर्वाधार निर्माणमा जुटेको छ । 

“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीमा जुटेका छौँ”, अध्यक्ष ओलीले भने । नेपालगञ्जमा २०१० सालमा निर्माण गरिएको रङ्गशालालाई भण्डै रु २५ करोडको लागतमा अहिले अत्याधुनिक बनाइँदैछ । 

रङ्गशाला क्षेत्रभित्र कभर्डहलको मर्मतसम्भार, नयाँ सुटिङरेन्ज, भारोत्तोलन, पौडीपोखरी, क्रिकेट मैदानलगायत संरचना धमाधम निर्माण भइरहेको छ । 

गत मङ्सिर २१ गते गर्ने भनिएको सो प्रतियोगिता भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले हुन सकेको थिएन । राष्ट्रिय खेलकूद परिषद्ले अहिले फागुनको दोस्रो सातादेखि सो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । 

अध्यक्ष ओलीका अनुसार, भौतिक पूर्वाधार निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । “अब तोकिएकै समयमा प्रतियोगिता सञ्चालन हुन्छ,” उनले भने ।  

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन र समापन नेपालगञ्ज रङ्गशालामा गरिनेछ भने बाँकेको कोहलपुर र खजुरा, बर्दियाको गुलरिया र ठाकुरद्वारा, दाङको बेलझुण्डी, कपिलवस्तु र रुपन्देहीमा समेत केही खेल हुने अध्यक्ष ओलीले बताए । 

प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मष्कट’का रुपमा राखेपले पारित गरिसकेको छ । 

प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नं ५ र त्यसअन्तर्गतका स्थानीय तहसँग क्षेत्रीय खेलकूद विकास समितिले सबैखाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न आग्रह गर्दै आएको छ । प्रतियोगितामा ३५ खेलका पाँच हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्