‘बुलबुल’को ट्रेलर रिलिज, ‘भ्यालेन्टाइन डे’देखि हलमा



काठमाडौं : नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर इन्टरनेटमा रिलिज गरिएको छ ।  माघे सङक्रान्तिको अवसरमा फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरले स्वस्तिमाको चरित्रबाट फिल्मको कथा भन्ने प्रयास गरेको छ । 

यस फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् । ट्रेलरमा स्वस्तिमाको रुप र हुलिया आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । फिल्मले एक महिला टेम्पो ड्राइभरको नदेखिएको जीवनको भित्री पाटोलाई देखाउन खोजेको अनुमान गर्न सकिन्छ । 

ट्रेलरमा फिल्मका नायक मुकुन भुसालका साथै लक्ष्मी बर्देवाले पनि पर्याप्त स्थान पाएका छन् । फिल्मको निर्देशन विनोद पौडेलले गरेका छन् । यस फिल्मको ट्रेलरमार्फत फिल्मको बनोट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजिएको छ । 

यस फिल्मलाई अविरल थापाले निर्माण गरेका हुन् भने बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा छायांकन सुसन प्रजापतिको र लेखन  विनोद पौडेलको रहेको छ । यस फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भीम थापा र राजु पौडलले मिलेर बनाएका हुन्  । 

रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर प्रदर्शन  हुनेछ । यस फिल्मको मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा देख्न सकिन्छ । यस फिल्मको ‘खुद्रा खाद्री माया’ बोलको गीत अहिले चर्चामा छ । 

 

प्रतिक्रिया दिनुहोस्