प्रदेशसभा १ को हिउँदे अधिवेशन २० गते सुरु हुने



विराटनगर : प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गते सुरु हुने भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकले हिउँदे अधिवेशन माघ २० गते आइतबार अपराह्न ३ बजे बस्ने निर्णय गरेको हो । गत असोज २३ गते वर्षे अधिवेशन सम्पन्न भएको थियो । हिउँदे अधिवेशन बोलाउन ढिलाइ भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पटकपटक कुरा उठाउँदै आएको थियो ।

 

प्रदेशसभाबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने काम अझै पनि हुन सकेको छैन । मुख्यमन्त्री कार्यालय निकट स्रोतका अनुसार चैतमा प्रदेशको नामकरण र राजधानीको विषयमा सरकार टुङ्गोमा पुग्नेछ । 

यस्तै मन्त्रिपरिषद् बैठकले कोसी रिफ्रेसमेन्ट आयोजनाका लागि बजेट विनियोजन गरेको छ । आर्थिक मन्त्रालयको विशेष पहलमा सुनसरीको कोसी गाउँपालिकामा लामो दूरीका सवारीसाधनका चालकलाई थकान मेटाउन, ट्राफिक सचेतना तथा होल्डेजका लागि रिफ्रेसमेन्ट आयोजना सञ्चालन हुने भएको छ । बैठकले सो आयोजनाका लागि कार्यालय खोल्न बजेट विनियोजन गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको सगरमाथा टिन्स क्लबको गठन तथा निर्देशिका पनि स्वीकृत गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका स्वकीय सचिव रवि खनालका अनुसार यो क्लबले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिनेछ ।

 

‘म अघि बढ्छु’ भन्ने नारासहितको कार्यक्रमले सामुदायिक तथा संस्थागत विद्यालयमा लागू औषधसम्बन्धी अभिमुखी कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्ने खनालले बताए । 

बैठकले मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना, प्रदेशको भूमि व्यवस्था, प्रदेश पर्यटन विकास विधेयकलगायतका विषयमा पनि निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

बैठकमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, समाजिक विकास मन्त्री जीवन घिमिरे तथा उद्योग, वन पर्यटन विकास मन्त्री जगदीश कुसियत उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्