माथिल्लो तामाकोसीको सेयर डिम्याट गर्न सञ्चयकर्तालाई आग्रह



काठमाडौं : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सञ्चयकर्ता सेयरधनीलाई साधारण सेयरको अभौतिकीकरण (डिम्याट) गर्न आग्रह गरेको छ । यस कम्पनीले तीन वर्षअगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि २ करोड ५४ लाख १६ हजार कित्ता प्राथमिक सेयर निष्कासन गरेको थियो  ।

उक्त सेयरका लागि कम्पनीले तीन वर्षसम्म लकिङ पिरियड तोकेको थियो । लकिङ पिरियड सकिएको हुँदा सञ्चयकर्ता सेयरधनीले दोस्रो बजारमा कारोबार गर्न पाउने भएका छन् । दोस्रो बजारमा कारोबार गर्न सबैभन्दा पहिले सेयर प्रमाणपत्रलाई अभौतिकीकरण गर्नुपर्ने हुन्छ ।

डिम्याट गर्न सबैभन्दा पहिला हितग्राही (डिम्याट) खाता खोल्नुपर्ने हुन्छ । हितग्राही खाता भएको संस्थामा गएर सञ्चयकर्ताले आफ्नो सेयर प्रमाणपत्र डिम्याट गर्न सक्छन् । डिम्याट भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिन्छ । यस कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

सेयर प्रमाणपत्र नलिएका सञ्चयकर्तालाई सनराइज क्यापिटल कमलपोखरीमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले नेपाल स्टक एक्चेन्जमा १० करोड ५९ लाख कित्ता प्राथमिक सेयर सूचीकृत गरी कारोबार सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्