पूर्वाधार विकास गरी पर्यटन प्रवर्द्धन गर्नुपर्छ- उपराष्ट्रपति पुन



कास्की : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको बुधबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए । 

 

“नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।”उनले भने। पर्यटकको सुविधाका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट आवश्यक रहेकोमा जोड दिँदै उनले देशका विभिन्न भागमा समेत होटल व्यवसाय विस्तार गरिनुपर्ने भनाइ राखे ।

 

देशले लामो राजनीतिक अस्थिरताबाट स्थायित्व प्राप्त गरेकाले युवा पिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित गर्नु आवश्यक रहेको उनको भनाइ थियो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकार उद्योगी व्यवसायीलाई लगानीको लागि वातावरण बनाउन तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्