केन्यामा आतंककारी आक्रमण, पन्ध्र जनाको मृत्यु



नैरोबी : केन्याको राजधानी सहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको छ । 

एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको साे होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी प्रहरीले गरेकाे छ। 

विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र त्यसपछि बन्दुकधारीले गोली प्रहार गर्न सुरु गरेका बताइएको छ । 

विदेशीसहित १५ व्यक्तिको मृत्यु भएको एक प्रहरीले नाम नबताउने सर्तमा जानकारी दिएकाे एएफपीले जनाएकाे छ। मारिएका व्यक्तिमध्ये एक अमेरिकी नागरिक रहेकाे विदेश विभागका अधिकारीले जानकारी दिएका छन् । 

होटेल परिसरमा फसेका दर्जनौं व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३ः३० बजे भाग्न सफल भएको बताइएको छ । के कति व्यक्ति होटेलमा छन् भन्ने प्रप्ट भइसकेको छैन । 

यस आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ । 

सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो । सन् २०१५ को अप्रिल २ मा पूर्वी केन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १ सय ४८ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्