हत्यामा आरोपितलाई समात्न बर्दियामा गोली चल्यो



काठमाडौं : हत्यामा ओरोपित एकजनालाई पक्राउ गर्ने क्रममा बर्दियामा प्रहरीले गोली चलाएको छ । पक्राउ पर्नेमा युवराज गिरी भएकाे प्रहरीले जनाएकाे छ।

माघ २६ मा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट आएका दीपकसिंह ठकुरीको हत्या भएको थियो । उक्त घटनामा संलग्न भरत शाहीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा गिरीको पनि संलग्नता खुलेको प्रहरीले जनाएको छ । 

गिरीको खोजीमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोली खटिएको थियो । सो टोलीले भेटेपछि गिरी भाग्न खोजेकाले गोली चलाएको प्रहरीले जनाएको छ ।

 

प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख पिताम्बर अधिकारीले गिरीको खुट्टामा गोली लागेको जानकारी दिए । पक्राउ गर्ने क्रममा गिरीले आक्रामक गतिविधि देखाएपछि गोली चलाएको बताए । गिरीको अवस्था सामान्य रहेको कोहलपुर टिचिङ अस्पतालमा उपचारका लागि पठाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्