ऐतिहासिक सिन्धुलीगढीमा बन्दैछ पहिलो युद्ध संग्रहालय



सिन्धुली : सुन्दर ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने भएको छ ।

गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इण्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले त्यहाँ संग्रहालय निर्माण गर्ने भएको हो ।

नेपाली वीरताको यो तथ्य नेपालको इतिहासमा त स्वर्ण अक्षरले लेखिएकै छ, अब बन्ने यो संग्र्रहालयले यसलाई युगौँसम्म पनि ताजा बनाइ राख्ने नेपाली इतिहासविद्हरुको भनाई छ ।

त्यसो त सिन्धुलीगढीको इतिहासबाहेकको अर्काे सुन्दरतासँग जोडिएको तथ्य पनि छ । नेपालको लोक संस्कृतिका क्षेत्रमा भिजेको एक कर्णप्रिय गीत ‘सिन्धुलीगढी घुमरे हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार, मार्यो नि मायाले मार्यो’ ले पनि यस स्थललाई सबै नेपालीमा परिचित बनाएको छ ।
लोकगायक कृष्णविक्रम थापाले विसं २०३० को दशकमा गाएका लोकगीतले नेपाली वीरताको प्रतीकका रुपमा परिचित सिन्धुलीगढीको ऐतिहासिक पहिचानमा सुन्दरता थपिदिएको छ ।

हाल प्रदेश नं.३ को कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा ६ हजार २०० वर्गफिटमा रहने गरी संग्र्रहालय निर्माणका लागि यही माघको पहिलो सातादेखि काम थालिएको छ ।
वि.सं.१८२४ असोज १५ मा तत्कालीन नेपाली सेना अंग्रेज सेनासँग युद्ध गरी प्राप्त गरेको सफलताले मुलुकको एकीकरणलाई सहयोग पुगेको थियो । तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई यस गढीको आसपास क्षेत्रमा गोरखाली सेनाले पराजित गरेको थियो ।

वि.सं.१७७९ पुस २७ गते जन्मेका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले तत्कालीन समयमा छरिएका विभिन्न राज्यलाई एकीकृत गर्ने उद्देश्यले वि.सं.१८०१ असोज १५ गते नुवाकोटमा आक्रमण गरी विजय प्राप्त गरेका थिए ।

त्यसपछि क्रमिक रुपमा स-साना विभिन्न राज्य जोड्ने र त्यसको रक्षा गर्ने रणनीतिमा गोर्खाली सेना थियो । त्यतिखेर गोर्खाली सेनाले काठमाडौं उपत्यकामा नियन्त्रण राख्न सकेको थिएन । यस स्थानमा गोर्खाली सेनाले युद्ध गरी अंग्रेज सेनाका किन लक नेतृत्वको २ हजार ४०० सैनिकमध्ये १ हजार ६०० सैनिकलाई मारेकोे इतिहास अब यस युद्ध संग्र्रहालयमा पनि संग्रहित हुनेछ ।

चालु आवको असार मसान्तसम्म निर्माण सम्पन्न गरिने उक्त संग्र्रहालय नेपालकै पहिलो युद्ध संग्र्रहालयका रुपमा समेत रहने छ । त्यहाँको मौलिकतालाई समेट्ने संग्र्रहालयको बाहिरी संरचना निर्माणका लागि नेपाली सेनाले ४ करोड ५० लाख खर्च विनियोजन गरेको सिन्धुलीगढीस्थित ब्रदबहादुर गणका प्रमुख राजीव थापाले जानकारी दिए ।

करिब २ हजार ५०० मिटर अग्लो स्थानमा एक तल्ले सो भवनमा ९ वटा कक्ष हुने छन् । त्यसमा तत्कालीन युद्धमा प्रयोग गरिएका सैनिक पोशाक, हातहतियार, अन्य सैन्य सामग्री र त्यस युद्धमा प्रयोग भएका अरु ऐतिहासिक वस्तु तथा सामग्री संग्रह गरिने छ । युद्धसम्बन्धी जानकारी दिन वृत्तचित्र प्रदर्शनका लागि श्रव्य दृष्य कक्ष एवं प्रदर्शनी कक्षको पनि व्यवस्था गरिएको छ ।

गण प्रमुख थापाले भने, “नेपालकै पहिलो युद्ध संग्रहालय निर्माणको क्रममा छ, छिमेकी राष्ट्र चीनका विभिन्न शहरमा रहेका यस किसिमका स्थलको भ्रमण गरी प्राप्त अनुभवका आधारमा यसलाई नमूनाका रुपमा विकास गर्ने हाम्रो योजना छ ।” त्यसबेलाको सैन्य संस्कृति, युद्ध अवस्था र हाम्रो सभ्यतासँग जोडिएको संग्रहालयमा तत्कालीन ६ वटा शीलालेख समेत राखिने छ ।

हाल सेनाको संरक्षणमा रहेका ती शीलालेख देवनगरीमा लेखिएका छन् र केही अस्पष्ट देखिन्छन् । प्राध्यापक डा.रमेश ढुङ्गेलले नेपालको वीरताको युद्धका रुपमा लिइने उक्त सिन्धुलीगढीमा युद्ध संग्र्रहालयको स्थापना गरिनु राम्रो कुरा हो भने । उनले विश्वमा देशको गौरव बढाउने यस्ता संस्थामा संग्रहालयलाई अन्तर्राष्ट्रिय तहमा बुझेका र ऐतिहासिक तथ्यलाई अनुसन्धानका आधारमा पुष्टि गर्न सक्ने विज्ञ समूहलाई सल्लाहाकारका रुपमा राख्नुपर्ने सुझाव पनि दिए ।

उनले भने,“यहाँ तत्कालीन युद्धलाई प्रतिविम्बित हुने गरी सामग्री राख्नुपर्छ, हात हतियार, पोशाकका साथै अरिङ्गालका गोलालाई पनि प्रतिकात्मक रुपमा राख्नुपर्छ ।” त्यस युद्धमा सिन्धुलीगढीको जंगलमा रहेका अरिङ्गालले चिलेर ब्रिटिसतर्फका कतिपय सेना मारिएको ऐतिहासिक तथ्य भेटिन्छ ।

काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका इस्ट इण्डिया कम्पनी सेनाले सिन्धुलीगढीमा गोर्खाली सेनासँग युद्ध गरी उनीहरुले जितेका राज्यसमेत कब्जा गर्ने उद्देश्यले आएका थिए ।

पूर्वमा जापानदेखि पश्चिमका ल्याटिन अमेरिकी भू–भागमा फैलिएको ब्रिटिस साम्राज्यलाई रोक्न शाहको नेतृत्वमा सञ्चालन भएको एकीकरण अभियानलाई सफल बनाउन अंग्रेजसँग युद्ध भएको थियो । सानो गढी र ठूलो (पौवा) गढी भनेर दुई वटा गढीमा विभाजित सिन्धुलीगढीको विशेष महत्वलाई तत्कालीन जनरल भीमसेन थापाले बुझेर एउटा स्थायी सैन्य टोलीको व्यवस्था गरेको पाइन्छ ।

बेलायती सेनासँग अत्याधुनिक हातहतियार भए पनि गोरखाली सेनाले स्थानीयको सहयोगमा घरेलु हतियारले युद्धमा सफलता कायम गरी मुलुकको भूगोल रक्षा गरेका थिए । सोही कारण नेपालीको शिर सधैंँ उच्च रहेको छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा आफूलाई चिनाउँदै आएको छ ।

इतिहासकारहरुको अध्ययन अनुसन्धान अनुसार त्यसबेला हाम्रा पुर्खाले बल, बुद्धि र विवेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण कठिन प्रायः थियो । काठमाडौँदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गौरवपूर्ण इतिहास बोकेको स्थल पनि हो । विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो ।

पुरातत्व विभाग, कमलामाई नगरपालिकालगायतले भवनको भित्री सजावटलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको सिन्धुलीगढीको युद्धले आधुनिक नेपालको निर्माणमा महत्वपूर्ण योगदान गरेको बताउँदै विशाल स्वतन्त्र देशका रुपमा नेपालको पहिचानलाई विश्वमा फैलाउन संग्रहालय महत्वपूर्ण हुने र यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

यसले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने हुँदा यो स्थललाई अन्तर्राष्ट्रियकरण गर्न गढी आसपास क्षेत्रका सम्पदा संरक्षण र पूर्वाधार विकासको आवश्यक रहेको स्थानीयको भनाइ छ ।

सिन्धुली दरबार, किल्ला, पौवा गढी त्यहाँका आकर्षकस्थल हुन् । विश्वका इतिहास अध्ययन र अनुसन्धानको गन्तव्य बन्न सक्ने सिन्धुलीगढीको इतिहास अध्ययनका लागि विदेशी देशका उच्च सैनिक अधिकारी पनि त्यस स्थलमा पुगेका छन् ।

रामेछापको सेरोफेरो, दोलखाको गौरीशंकर हिमालको दृश्य, र तराईका समथर भूभाग देखिने यो स्थान महाभारत रेन्जमा छ । बीपी राजमार्ग निर्माण भएपछि गढी घुम्न जान यातायातको सहज पहुँच छ । सिन्धुलीमाढीबाट करिब २० किलोमिटरको दूरीमा कैयौँ घुम्तीसहितका मोड छिचोल्दै उकालो लागेपछि गढी पुगिन्छ ।

जापान सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यो राजमार्ग बनेपादेखि बर्दीबास हुँदै पूर्वी तराई भेगमा झर्न सकिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका सन्दर्भमा उनको पूर्णकदको शालिक संग्र्रहालय नजिक स्थापना गरिएको छ ।

उक्त युद्धमा वीरगति प्राप्त गरेका नेपाली तथा विदेशीको सम्झनामा समाधिस्थलमा पार्क निर्माण गर्ने तयारीसमेत भइरहेको छ । मुलुकको एकीकरणका साथै विश्वलाई नै युद्धको सफल सन्देश दिने सिन्धुलीगढी विश्व इतिहासमा सैन्य सभ्यताको पाठशाला हो ।

बन्न लागेको संग्र्रहालयले नेपाली वीरतालाई विश्वमा पुर्याउने सिन्धुली जिल्ला समन्वय समितिका प्रमुख शंकर तिवारीले बताए । सिन्धुलीमा भएका पर्यटकीय क्षेत्रको विकास क्रममा उक्त संग्र्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।

नेपाली सेना, पत्रकार महासंघको सक्रियतामा ३ वर्षदेखि कात्तिक २४ गते विजयोत्सव मनाउन गरिएको छ । असोज १५ गते यस युद्धमा नेपालले विजय प्राप्त गरेको भए पनि दशैँलगायत चाडपर्वका कारण कात्तिकमा कार्यक्रम गर्न थालिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्