जिरी जाने नेपाली पर्यटकलाई ५० प्रतिशत छुट



काठमाडौं : नेपालको स्विट्जरल्यान्ड भनेर चिनिएको दोलखाको जिरी घुम्न जाने आन्तरिक पर्यटकलाई ५० प्रतिशतसम्म छुट दिइने भएको छ । माघ १५ देखि वैशाख १५ सम्म जिरी पुग्ने पर्यटकलाई कोठा भाडाको रकममा ५० प्रतिशत छुटको घोषणा गरिएको हो । 

 

जिरीमा कोठाभाडामा मात्र नभएर खाने कुराका विशेष परिकारमा समेत त्यहाँका उद्योगी व्यवसायीले छुटको घोषणा गरेका छन् । जिरी उद्योग वाणिज्य संघका अनुसार जिरी नगरपालिका प्रमुख टंक जिरेलसहितका जनप्रतिनिधि, जिरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा होटल व्यवसायी सम्मिलित बैठकले यो निर्णय गरेको हो ।

 

बैठकले जिरीको पर्यटन प्रवद्र्धनका लागि एकीकृत प्याकेज दिने निर्णय गरेको छ । यसले होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास सरोकारवालाको छ ।

 

कोठाभाडामा ५० प्रतिशत छुट पाउने व्यवस्थाअनुसार अब प्रतिकोठा दैनिक ३–४ सयमा पाउन सकिनेछ । त्यसै गरेर एट्याच बाथरुम भएको कोठा ५–६ सय र डिलक्स कोठा १ हजारसम्ममा पाइनेछ ।  करिब २ सय ५० सुविधा सम्पन्न होटल रहेको जिरीमा २०७२ वैशाखको भूकम्पपछि झन्डै २ दर्जनजति होटल एट्याच बाथरुम र सुपर डिलक्स सुविधासहितका बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्