स्वास्थ्य संस्थामा लायन्सको सहयोग : शव गृह निर्माणदेखि बिरामीलाई उपचारसम्मको व्यवस्था  



विराटनगर : सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लबले विराटनगरमा स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुर्‍याउँदै आएको छ । 

 

अस्पतालमा व्यवस्थित शव गृह निर्माणदेखि आर्थिक अवस्था कमजोर भएर उपचार नपाई छटपटाइरहेका बिरामीलाई उपचारमा सहयोग पुर्‍याउनेसम्मको काममा लायन्सको भूमिका महत्वपूर्ण रहेको हो । 

 

खुट्टा भाँच्चिएर समस्यामा परेका संखुवासभाको खाँदबारी नगरपालिका–७ का ६० वर्षीय लीलाबहादुर घिमिरेलाई उपचारका लागि लायन्स क्लब अफ विराटनगर सिटिजन्सले सहयोग गरेको छ । 

 

दाउरा काट्ने क्रममा गत बिहीबार मुडाले किचेर खुट्टा भाँच्चिएपछि घिमिरेलाई उपचारका लागि विराटनगरको कोसी अञ्चल अस्पतालमा ल्याइएको थियो । पैसा अभावमा उपचार गराउन नसकेका उनको उपचारमा लायन्स क्लबले सहयोग गरेको हो । 

 

क्लबकै सहयोगमा शल्यक्रिया गरेर उनको खुट्टामा स्टिल राखिएको छ । क्लबले औषधि, उपचार र खुट्टामा राख्ने स्टिलको व्यवस्था गरिदिएको लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी रेवतबहादुर कार्कीले बताए । 

 

आर्थिक अवस्था नाजुक भएका कारण उपचार नपाएका घिमिरेलाई ५४ हजार रुपैयाँ बराबरको सहयोग गरिएको कार्कीले बताए । उनले अस्पतालमा रहेर उपचार गराउन्जेलसम्म बिरामीका लागि फलफूल र पोषिला खानेकुराको व्यवस्था लायन्स क्लबले मिलाउने बताए ।

 

 पारिवारिक आर्थिक अवस्था कमजोर भएका अन्य जुनसुकै बिरामीलाई पनि उपचारमा सहयोग गरिने कार्कीको भनाइ छ । कार्कीले पैसा अभावमा उपचार नपाएर कोही पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने आफूहरुको चाहना रहेको बताए । 

 

घिमिरेको खुट्टाको शल्यक्रिया अस्पतालका बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल नेतृत्वको चिकित्सक टोलीले गरेको हो । घिमिरेले ज्यालामजदुरी गरेर जसोतसो जीवन धान्दै आएको छिमेकी लीलाबहादुर विश्वकर्माले बताए । 

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले घिमिरेको शल्यक्रिया गर्दा र ल्याब परीक्षण गराउँदा लाग्ने सबै शुल्क अस्पतालले मिनाहा गरिदिएको जानकारी दिए । उनले आर्थिक रुपमा विपन्न र असहाय बिरामीलाई अस्पतालले विशेष छुट दिदै आएको बताए ।

 

पैसा नभएर उपचार नपाउँदा समस्यामा परिरहेको आफूलाई सहयोग गर्ने लायन्स क्लब, अस्पताल र चिकित्सक टोलीप्रति घिमिरेले आभार व्यक्त गरेका छन्  । उनले भने, ‘उपचार नपाइकन मर्छु जस्तो लागेको थियो । उपचारमा सहयोग मिलेपछि नयाँ जीवन पाएको आभाष भएको छ ।’ 

 

यसैबीच लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी कार्कीकै सक्रियतामा लायन्स क्लबले बुधबार नै पेटभित्रै सात महिनाको शिशुको मृत्यु भएकी एक महिलालाई समेत आर्थिक सहयोग गरेको छ । 

मोरङको बेलबारी नगरपालिका ६ की २८ वर्षीय कविता खवासलाई पाँच हजार एक सय रुपैयाँ सहयोग गरिएको लायन्सका निवर्तमान डिस्ट्रिक गर्भनर लीलाकुमार ढुँगेलले जानकारी दिए । 

 

खवासको पेटमा साता महिनाको शिशुको मृत्यु भए पनि शल्यक्रिया गरेर बाहिर निकाल्नलाई पैसाको अभाव रहेको पाइएपछि सहयोग गरिएको उनको भनाइ छ । 

 

खवासलाई कोसी अञ्चल अस्पतालको प्रसूति वार्डमा राखेर उपचार सुरु गरिएको छ । कार्यक्रममा कार्की, ढुँगेल लगायतका लायन्सहरुको उपस्थिती रहेको थियो ।


अस्पतालमा व्यवस्थित शव गृह  

यसैबीच लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी कार्कीकै पहलमा कोसी अञ्चल अस्पताल विराटनगरमा व्यवस्थित शव गृह निर्माण गरिएको छ । त्यसको निर्माणका लागि लायन्स क्लब विराटनगर एक्टिभ, विराटनगर शुभम् र लायन्स क्लब अफ दिङ्ला भोजपुरले सहयोग गरेका हुन् । 

 

कार्कीले टायल र मार्वल समेतको प्रयोग गरेर एसीसहितको शव गृह निर्माण सम्पन्न गर्न छ लाख तीन हजार तीन सय १५ रुपैयाँ खर्च लागेको जानकारी दिए । मेसु पोखरेलका अनुसार शव गृहमा एकै पटकमा तीनवटा शवको पोष्टमार्टम गर्न सकिन्छ । यस अघि कोसी अञ्चल अस्पतालमा व्यवस्थित शव गृह नहुँदा पोष्टमार्टमका लागि ल्याएर राखिएका शव गन्हाउने र वरपर दुर्गन्ध फैलने समस्या थियो । 

 

‘विभिन्न घटनामा परेर मृत्यु भएकाहरुको शव एक दिनमा अस्पतालमा तीनवटा भन्दा बढी पोष्टमार्टमका लागि ल्याउने गरिएको छ,’ मेसु पोखरेलले भने, ‘तर व्यवस्थित शव गृह निर्माणपछि पोष्टमार्टममा सजिलो हुनुका साथै शव सडेर दुर्गन्ध फैलने समस्याको अन्त्य भएको छ ।’ 

 

लायन्स क्लबले यस अघि नै अस्पतालमा एक रातमा २२ जना सम्म सुत्न मिल्ने गरीको बिरामी कुरुवा घर पनि बनाइदिएको छ । 

 

बिरामीले अस्पतालमा कुर्नका लागि आउने कुरुवालाई सुत्ने ठाउँको अभाव हुने भएका कारण लायन्सको सहयोगमा निर्माण भएको बिरामी कुरुवा घरले धेरैलाई सजिलो भएको अस्पतालले जनाएको छ । 

 

 

(फोटो क्याप्सन : १, खुट्टा भाँचिएपछि उपचार गर्न नसकेका संखुवासभाको खाँदबारी ७ का लीलाबहादुर घिमिरेलाई उपचारका लागि सहयोग गर्न उपस्थित लायन्सका पदाधिकारी । 

२, लायन्सको सहयोगमा कोसी अञ्चल अस्पताल विराटनगरमा निर्माण गरिएको शव गृह । ) 

प्रतिक्रिया दिनुहोस्