चमार विद्यार्थी छात्रवृति कोषको स्थापना



जनकपुरधाम : उच्च शिक्षा हाँसिल गर्न सहयोग पुग्ने उद्देश्यका साथ चमार विद्यार्थी छात्रवृति कोषको स्थापना गरिएको छ ।

उक्त कोषले चमार सामुदायिका गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृति प्रदान गर्ने निर्णय गरेको छ ।

जनकपुरको गोपाल धर्मशालामा ६४३ औं सन्त शिरोमणि गुरु रविदासको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । उक्त कोषमा मानवअधिकारकर्मी बिनोद महराले ११ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् भने आर्थिक सहयोग गर्न चाहेमा नेपाल रविदास उत्थान समाजलाई सम्पर्क गर्न सकिने समाजले जनाएको छ ।

जातीय विभेद लगायतका विभिन्न किसिमका हिंसा एवं विभेदहरु समाजमा व्यापक रहेको अवस्थामा गुरु रविदासले आफ्नो सदविचारको माध्यमबाट समाजमा समता एवं समानता कायम गर्न ठुलो योगदान पुर्याएका छन् । उनको कृति एवं महानताको संसारभरी नै चर्चा गरिन्छ ।

आदर्शवादी सोंच एवं चिन्तनद्वारा समाजमा रहेका विभेद, कुरिती, अन्धविश्वास एवं शोषण अन्त्य गर्नका लागि उनले गरेका कार्यहरु समाजमा अविस्मरणीय रहने छ ।

नेपाल रबिदास उत्थान समाजको आयोजनामा भएको कार्यक्रममा धनुषा, सिरहा र महोत्तरीबाट सहभागीहरु उपस्थित भएका थिए । कार्यक्रममा दलित अगुवा चन्देश्वर सदा,तराई मानवअधिकार रक्षक संजालका प्रदेश संयोजक मानवअधिकारकर्मी बिनोद महरा, बिनोद राम, रामधारी राम, रामचन्द्र महरा लगायत बक्ताहरुले बिचार प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्