‘गरुड पुराण’ लाई पिजी 



काठमाडौं : माघ ४ बाट रिलिज हुने फिल्म ‘गरुड पुराण’ को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई सेन्सर पास गरेको छ । समितिले यस फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाइडेड’ (पिजी) सर्टिफिकेट दिएको छ । 

यस फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका छन् । फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको निर्देशकले जनाएका छन् । यस फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको रमाइलो कथा प्रस्तुत गरिएको छ ।

माघ महिना विवाहको महिना भएको कारणले यस फिल्मलाई माघ ४ गते रिलिज गर्न लागिएको छ । अहिले ‘गरुड पुराण’ फिल्मको ‘म त पिरेममा…’ भन्ने गीत धेरै चर्चित भएको छ । यस गीतमा निश्चल बस्नेतलगायतका कलाकारको नृत्य रहेको छ । यो गीतमा कोसिस क्षत्रीको संगीत, कोसिस र मनिषा पोखरेलको स्वर रहेको छ ।

यस फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा रहेका छन् । यस्तै कर्मा, लुनिभा तुलाधर, प्रवीण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मि भट्टलगायतको मुख्य भूमिका रहेको छ । यही फिल्मबाट प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु पनि गरेकी छिन् ।

यस फिल्मको निर्माण अजित प्रजापति र अशोक गौतमको रहेको छ । यस फिल्मको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको छ । यसको संवाद आकाशले लेखेका छन् । यस फिल्मको सुसन प्रजापतिको छायाँकन रहेको छ ।  यसमा रिनाशा बान्तवा राईले नृत्य निर्देशन, उज्जवल ढकालले सम्पादन र गगन श्रेष्ठले निर्माण व्यवस्थापन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्