सेनाद्वारा समुदायलाई विपत प्रतिकार्य तालिम



डोटी : सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले जिल्लाका स्थानीय तहमा समुदायमा आधारित आपतकालीन (विपत) प्रतिकार्य तालिम दिन शुरु गरेको छ ।

स्थानीय तहको सहकार्यमा उक्त गणले आदर्श र सायल गाउँपालिकामा आज तालिम सम्पन्न गरिसकेको तथा अन्य स्थानीय तहमा आगामी फागुन १ गतेबाट तालिमको आयोजना गरिने सो गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने,“बिपत आइपरेको बेला कसरी जोगिने तथा कसरी बिपतमा परेकाको उद्धार गर्ने भन्ने विषयमा तालिम दिन शुरु गरेका छौँ, जिल्लाका सबै स्थानीय तहमा उक्त तालिम दिइने छ ।” तालीम खोज्ने, उद्धार गर्ने विषयमा ३ चरणका जानकारी गराउनुका साथै अभ्यास गराइने छ ।

उनका अनुसार सहभागीलाई प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य उपचार, खोप तथा महामारीबाट सुरक्षित हुने उपाय, डुबानमा परेका, बाढीपहिरा र आगलागीमा परेकालाई स्थानीय स्रोत प्रयोग गरी उद्धारबारे जानकारी गराइने छ ।

गणले जिल्लामा भुकम्प आउँदा अपनाउनुपर्ने अवस्था, सावधानीलगायत अन्य विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रम विभिन्न तालिम तथा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्