अख्तियार विरुद्ध नेविसंघको मसाल जुलुस



वीरगन्ज : नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा नगरको विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे परेको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध नगरको पानमंडी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न ठाउँबाट एकसाथ मसाल जुलुस निकालेको थियो ।

जुलुस नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरी गरी करिब ६०-७० जना प्रहरीहरु परिचालन गरिएको थियो । जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

जुलुसलाई नियन्त्रणमा लिने क्रममा संघका केन्द्रिय सदस्य सुधिर पटेल र ठाराब विद्यार्थी नेता मुन्ना तिवारी घाइते समेत भएका छन् । उनीहरुले लिएको मसाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा नदिएपछि लाठी प्रहार गर्दा घाईते भएका पटेलले बताए । केहिलाई प्रहरीले नियन्त्रणमा लिए पनि विरोधको कार्यक्रम समापन पछि छोडेको छ ।

विरोधको क्रममा नेपाली काँग्रेसका नेता राजु गुप्ता, प्रवेश सर्राफ, बच्चा सर्राफ, नेवि केस ब्रदी नारायण तिवारी, नेवि संघ जिल्ला उपाध्यक्ष विकेश पटेल, नेवि संघ महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता अब्दुल कयुम, प्रकाश रौनियार, समिर अंसारी, सरोज अंसारी लगायत सहभागिता थिए ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्