सम्झौताविपरीत बगर उत्खनन गर्ने कम्पनीलाई जरिवाना



म्याग्दी : बेनी नगरपालिका क्षेत्रमा पर्ने बगरबाट सम्झौताविपरीतका उपकरण प्रयोग गरेर नदीजन्य वस्तु उत्खनन गर्ने निर्माण कम्पनीलाई जरिवाना गरिएको छ । 

जिल्ला अनुगमन समितिले नगरपालिकासँग भएको सम्झौताविपरीत ब्याकुहोलोल्डर उपकरण प्रयोग गरेर ढुंगा, गिटी र बालुवा उत्खनन गरेकाले टाकुरा विकास बिल्डर्सलाई जरिवाना तिराउने निर्णय गरेको हो । समितिको अध्यक्षसमेत रहेका समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बेनपा ६ डम्मरामा पर्ने निलदहस्थित म्याग्दी नदीको बगरमा नदीजन्य वस्तु उत्खननन गर्दै गरेको अवस्थामा आइतबार जिल्ला प्रहरी कार्यालयले ब्याकुहोलोडर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

 

नगरपालिकासँग मजदुर प्रयोग गरेर उत्खनन्गर्ने सम्झौता गरेका निर्माण कम्पनीले सम्झौताविपरीत उपकरण प्रयोग गरेकाले पन्ध्र हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको अनुगमन समितिका सदस्य प्रजिअ लीलाधर अधिकारीले जानकारी दिए ।

बेनी नगरपालिकाका अन्य बगर क्षेत्रमा पनि सम्झौताविपरीत उपकरण प्रयोग गरेर कटानको जोखिम हुने गरी जथाभावी रुपमा उत्खनन भइरहेको गुनासो आएकाले अनुगमन गरी १० दिनमा प्रतिवेदन पेस गर्न सहायक प्रजिअ लीलादेवी अर्यालको संयोजकत्वमा उपसमितिसमेत गठन भएको छ ।

टाकुराका सञ्चालक कुबिरकुमार श्रेष्ठले उपकरण प्रयोग गर्न नपाए घाटा पर्ने भएकाले नगरपालिकासँग सम्झौता रद्द गरेर आफूले बुझाएको राजस्व फिर्ता माग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्