युवकको घाँटी रेटेर हत्या गर्ने २ युवक सार्वजनिक



कोहलपुरः बाँकेको कोहलपुरमा हत्या गरिएका युवकको हत्यामा संग्लन रहेको आरोपमा बाँके प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । गत शनिबार कोहलपुरमा सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरेर हत्यामा सग्लन भएको भन्दै २ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

 

बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका २ बाँकेका युवराज गिरी  र हिम्जा गाउँपालिका ६ अछामका भरत बहादुर शाही रहेका छन् । गिरीलाई खुट्टामा गोली हानेर बर्दियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने शाहीलाई मंगलबार राती कर्णाली प्रदेशको सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो ।

 

प्रहरीमा भर्ना हुन आएका ठकुरीलाई यी दुई जनाले जागिर लगाइदिने भन्दै डेढ लाख लिएका थिए । भर्ना गर्न सक्ने अवस्था नभएको र पैसा पचाउन ठकुरीलाई उनीहरूले हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिहले जानकारी दिए । २ जना पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्