प्रिन्सको विजय यात्रा जारी



विराटनगर : मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहालले आफ्नो विजय यात्रालाई जारी राखेका छन् । 

 

उनले सोही प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि कब्जा गरिसकेका छन् । उनी दुवई अन्तर्राष्ट्रिय जुयिनर ब्याडमिन्टनका विजेता तथा भर्खरै विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई विधाका विजेता पनि हुन् ।

 

 काठमाडौंका दाहालले पुरुष एकल खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस ग्रामका मुना हाङ् राईलाई २१–४, २१–४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । 

 

दुर्गादेवी दुलाल सुन्दरहरंैचा स्पोर्टस् ग्रामद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ नै पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य, सेनाका प्रफुल महर्जन, रुकेश महर्जन, पविन लिनथेप र दिवश शंकर, एपीएफका विजित थापा मगर, गौतम कठायत, सुमल लिम्बू, सुनिल जोशीले आ–आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोस्रो चरणमा स्थान बनाएका छन् । 

 

बिष्णुले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका अजय चौधरीलाई २१–५, २१–८ ले पराजित गरे । यस्तै पुलिसकै जीवनले बिर्तामोडका विवेक कदङ्गवालाई २१–५, २१–७ ले पाखा लगाए । 

जित निकाल्ने क्रमममा सेनामा प्रफुलले तेह्रथुका क्षीतिज केसीलाई २१–९, २१–१४, रुकेशले विर्तामोडका नविन सिलवाललाई २५–२३, २१–१०, पविन लिनथेपले पाँचथरका सन्देश जवेगुबाट वाक ओभर र दिवश शंकरले सुर्खेतका नरेन्द्र बमलाई २१ –१०, १८ –  २१, २१ – १३ ले पराजित गरे ।

 

 एपीएफका विजित थापा मगरले मोरङका दिपेन राईलाई २१ – ६, २१ – ११, गौतम कठायतले जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिष खतिवडालाई २१ – १०, २१ – १० को समान अन्तरले, सुमल लिम्बूले झुम्काका गोपाल सुब्बालाई २१–८, २१ – ११ र सुनिलले भद्रपुरका सम्प्रास लिम्बूलाई २१–३, २१–११ ले पराजित गरे ।

 

पुरुष एकल, युगल, मिक्स र भेट्रान्स युगल गरी चार विधामा आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन आइतबार जित निकाल्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमिका प्रियान्सु क्षेत्रीले वेष्ट बंगालका जयदीप शाहलाई २१–१९, २१–१७, वेष्ट बंगालका निहाल दर्नालले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुनाम श्रेष्ठलाई २१–१३, २१–१३, वेष्ट बंगालका प्रियान्सु सिंहले कोठारीका डबल बहादुर गुरुङ्गलाई २१–१५, १३–२१, २१–१६ तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका प्रनिशसिंह ठकुरीले इटहरीका भोजबहादुर गुरुङ्गलाई २१–११, २१–१० ले पराजित गर्दै दोश्रो चरणको दावेदारी प्रस्तुत गरेका थिए ।

 

 

चार विधामा खेलाईको प्रतियोगितामा नेपाल र भारतका गरी पुरुष एकलमा ३२, पुरुष युगलमा २९, मिक्स युगलमा ९ र भेट्रान्स युगलमा १६ जोडीले प्रतिष्र्धा गरिरहेका छन् ।

उद्यमी एवं समाजसेवी भोलेश्वर दुलालले आफ्नी आमा दुर्गादेवी दुलालको नाममा सुन्दरहरैंचा ८ सलकपुरमा आफ्नै जमिनमा निजी खर्चमा ब्याडमिन्टन कोर्ट निर्माण गर्नुका साथै स्पोर्टस् ग्राम बनाई खेलकुद विकास र विस्तारमा आफूलाई यस क्षेत्रको अगुवाको रुपमा प्रस्तुत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्