रत्नजित र नविनको जोडी विजयी 



विराटनगर : नेपाली सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तराष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीतर्फ विजयी भएको छ । 

 

तामाङ र श्रेष्ठको जोडीले एपीएफका दिपेश धामी र विजित थापा मगरको जोडीलाई २१ – १८, २५ –२३ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । 

 

विजयी खेलाडीहरुले एक लाख नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता टोलीले नगद ५० हजार, ट्रफी र प्रमाण पत्रमा चित्त बुझायो । यस्तै तेश्रो स्थान प्राप्त गर्नेले १५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

 

अन्य खेलहरुमा मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडी तर्फको प्रतियोगिता मंगलबारनै सम्पन्न भइसकेको छ ।

 

मिक्स युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । पुरुष एकल तर्फ विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गरे । 

 

मास्टर्सतर्फ शीर्ष तीनका खेलाडीले क्रमश ३५ हजार, १५ हजार र सात हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष भोलेश्वर दुलाल लगायतले पुरस्कार वितरण गरेका छन् ।


ब्याडमिन्टन हलको उद्घाटन

यसै अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिका ८ सलकपुरमा १० कट्ठ जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले बुधबार उद्घाटन गरे । करिव दुई करोड ५० लाख लगानीमा बनाइएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ । 

 

कभर्डहलको उद्घाटन गदै सदस्य सचिव बिष्टले सरकारले एक निर्वाचन क्षेत्रका एक खेल ग्राम निर्माण गर्ने नीति रहेको भन्दै हल निर्माण मात्र ठूलो कुरा नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरेमा मात्र त्यसको सार्थकता रहने बताए । 

 

उनले यस्ता उदाहरणिय कार्यलाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्