इँटाभट्टामा बाल श्रमिकको प्रयोग, छ जनाको उद्धार 



फोटो क्याप्सन : मोरङको कटहरी गाउँपालिका ५ मा रहेको कृष्ण प्रणाम इँटा भट्टामा काम गर्दै गरेका बालक 

विराटनगर : मोरङमा संचालनमा रहेका इँटाभट्टामा बालश्रमिकको प्रयोग व्यापक मात्रामा गर्ने गरेको पाइएको छ । 

 

बालबालिकालाई इँटाभट्टा सञ्चालकले जोखिमपूर्ण काममा लगाएर चरम शोषण गर्ने गरेको पाइएको हो । कानुनतः उमेर नपुगेका बालबालिकालाई कुनै पनि श्रममा लगाउन मिल्दैन । 

 

गैर कानुनी ढंगबाट श्रममा लगाइएका छ जना बालकलाई बुधबार मोरङको कटहरी गाउँपालिका ५ मा रहेको कृष्ण प्रणाम इँटा भट्टाबाट प्रहरी र सिविन नेपालको संयुक्त टोलीले उद्धार गरेको छ ।  

उद्धार गरिएका बालकलाई केही समयका लागि संरक्षण प्रदान गर्ने दायित्व दिएर पूर्वाञ्चल अनाथ आश्रमको जिम्मा लगाएको छ । 

 

उद्धार गरिएका सबै बालक १६ वर्ष मुनिका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले १६ वर्ष मुनिका बालकलाई गैरकानुनी रुपमा काममा लगाएको पाइएपछि उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएका बालकहरु पाँचजना भारतीय र एक जना नेपाली छन् ।

 

डीएसपी श्रेष्ठकाअनुसार भारतको कुछविहारका १६ वर्षीय रुवेल मियाँ, छितेही बंगालका १६ वर्षीय कासनकुमार विश्वास, १४ वर्षीय राजकुमार विश्वास, भारतको शितलखोशीका १४ वर्षीय काउछर आलम र भारतको बंगला गोलेनाहाटीका ११ वर्षीय रुवेल मियाँलाई उद्धार गरिएको छ ।

 

 मोरङको कटहरी भौंडाहाका राजु सरदारका छोरा १३ वर्षीय मोहन सरदारलाई पनि बालश्रमिकका रुपमा प्रयोग गरेको पाइएपछि उद्धार गरिएको उनले बताए । 

 

बालकहरुलाई गैर कानुनी रुपमा इँटा भट्टाको काममा लगाउने भट्टा सञ्चालक विराटनगर महानगरपालिका ३ का ४७ वर्षीय फणिन्द्रबहादुर ढकाललाई पनि पक्राउ गरिएको उनले बताए । 

पक्राउ गरिएका ढकाललाई आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

 

डीएसपी श्रेष्ठले अन्य इँटा उद्योगहरुले समेत बालकहरुलाई गैर कानुनी हिसाबले इँटा भट्टाले काममा लगाउने गरेको सूचनाका आधारमा त्यस्ता उद्योगमाथि निगरानी बढाइएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्