वातावरण विधेयक विचार गरियोस प्रस्ताव पारित



काठमाडौं : प्रदेश नं.१ प्रदेशसभाको आजको बैठकले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पेश गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

मन्त्री कुसियतले जलवायु परिवर्तनले पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न र दिगो विकासको आधार खडा गर्न विधेयकले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले वातावरण प्रदूषणले मानव जीवनमा पर्ने प्रतिकूल असरलाई कम गर्न तथा प्रदेशभरिमा उत्पन्न हुने फोहर र प्रदूषणलाई पनि व्यवस्थापन गर्न यो विधेयकले सहयोग पुर्याउने बताए ।

‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको सैद्धान्तिक छलफलमा सदस्य उमिता विकले नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विधेकयले संरक्षण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

अर्का सदस्य केदार कार्कीले विकास निर्माण गर्दा वातावरण अध्ययन प्रतिवेदन तयार हुनुपर्ने बताउँदै विधेयकसँगै कार्यविधि आउनुपर्नेमा जोड दिए । सदस्य प्रतापप्रकाश हाङ्गामले पहाडमा गोलियाको नाममा तीव्र रुख कटान भइरहेको जानकारी दिँदै मानव स्वास्थ्यदेखि जीवजन्तुसमेतको संरक्षणमा यो विधेयकले मद्दत गर्न सकोस् भने ।

राजकुमार ओझाले जल, वायु, जीव तथा वनस्पतिलाई संरक्षण गर्न विधेयकलाई अझ राम्रो र सुदृढ बनाउन विषयगत समितिमा गहन छलफल हुनुपर्ने माग गरे । बलबहादुर साम्सोहाङले वातावरण सिङ्गो पृथ्वीसँग जोडिएकाले यो विधेकयमा गहन छलफल हुनुपर्ने धारणा राखे ।
प्रदेशसभाको बैठक प्रारम्भ भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यले उभेर विरोध जनाएपछि केही समय सदन अवरोध हुन पुगेको थियो । उपसभामुख सरस्वती पोखरेलले पटक पटक सदस्यहरुलाई बस्न आग्रह गरेपछि सदस्यले आफ्ना स्थानमा बसेपछि काँग्रेसका शेखरचन्द्र थापालाई बोल्न समय दिएका थिए ।

उनले संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र तठस्त हुनुपर्ने कुरामा जोड दिए । प्रदेशसभाको २ दिनको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसले आयोगको कामकारवाहीप्रति असन्तुष्ट व्यक्त गर्दै संसद बैठक अवरोध गरेको र अब हाम्रो आन्दोलनको स्वरुप परिवर्तन भएकाले संसद सञ्चालन हुने घोषणा गरे । उनी बोलिसकेपछि संसद १० मिनटका लागि स्थगन भएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्