स्कुल ड्रेसमै गर्भपतन किशोरीहरु आउँदा मन भक्कानिन्छ



जमुना सिटौला

झण्डै १ वर्ष अगाडि, करिब १७ वर्षकी किशोरी आफ्नो केटा साथीसँग सेवा लिनलाई नेपाल परिवार नियोजन संघको क्लिनिकमा आइपुग्छिन्। आफ्नो सम्पूर्ण जाँचपछि आफू गर्भवती भएको थाहा पाउँदा आत्तिएर झण्डै होसै गुमाउन पुग्छिन्, सँगै आएका उनका केटा साथी डरले काम्न थाल्छन्। अनि उनीहरूलाई सम्हाल्न परामर्शदाता र सेवाप्रदायकहरूले रामै्र प्रयाश गरिरहेका हुन्छन्।

किशोरीले रुँदै कराउँदै आफ्नी आमालाई फोन गरिरहँदा आत्तिएर आमा संघको क्लिनिकमा आइपुग्छिन्, स्कुल पठाएकी छोरी क्लिनिकमा यस्तो खबर सुनेर आउँदा दुखी हँुदै आत्तिदै आफ्नो श्रीमान् बोलाउँछिन, फेरि श्रीमान्ले आत्तिदै आफ्नो छोरालाई बोलाउँछन्। जब छोरा क्लिनिकमा आइपुग्छ तब केटा कार्यालयको पर्खाल नाँधेर भाग्छ।

केटा रैछ छोराको मिल्ने साथी। चारैजनाको त्यहाँ कोलाहाल हुन्छ, अन्त्यमा सुरक्षित गर्भपतन सेवा लिनुबाहेक अर्को विकल्प उनीहरूसँग हुँदैन। गर्भ अलिक ठूलो भैसकेको हुनाले औषधिको प्रयोगबाट गर्न नमिल्ने भएकाले औजारको माध्यमबाट गरियो।

एउटा सानो कमिलाले टोक्दा पनि सहन नसक्ने मेरी छोरीले कसरी सही होला भन्दै अझ बढी पीडित थिए उनीहरू। यो एउटा उदाहरण मात्र हो, भिन्दा भिन्दै कथा भएका यस्ता थुप्रै उदाहरण हरेक दिन, हरेक हप्ता आइरहेकै हुन्छन् हाम्रा सेवा केन्द्रहरूमा।

सही सूचना पाएका आधारमा सही ठाउँमा आइपुगेकाले उसकोे गर्भपतन सुरक्षित भयो। अन्य ठाउँमा असुरक्षित गर्भपतन गराएर, औषधि पसलबाट गर्भ फाल्ने दबाई खाएर नाजुुक अवस्थामा संघका क्लिनिकमा आइपुग्नेहरूको संख्या पनि उत्तिकै छ। औषधि पसलहरूमा सजिलै यस्ता औषधि पाइने भएकाले विशेष गरी युवावर्गले गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा लिइरहेका छन्।

नेपालमा किशोरी अवस्थामा गर्भवती हुने दर उच्च बिन्दुमा रहेको छ, सानो उमेरमा गर्भवती बन्नु र बारम्बार गर्भपतन गराइरहँदा महिलाको प्रजनन् स्वास्थ्यमा प्रतिकूल असर परेको तथ्य सर्वविदितै छ।

यस्तो अवस्थालाई न्यूनिकरण गर्न नेपाल परिवार नियोजन संघले विशेष गरी महिला, किशोरकिशोरी र अन्य जोखिमवर्गलाई आफ्ना कार्यक्रमको विशेष प्राथमिकतामा पारेर उनीहरूको प्रजनन् स्वास्थ्य र अधिकारलाई सम्बोधन गरिहेको छ, जसको परिणामस्वरूप संघले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने प्रजनन् स्वास्थ्यको राष्ट्रिय योगदानमा अधिकांश हिस्सा ओगटेको छ भने राष्ट्रिय सुरक्षित गर्भपतन सेवामा १७ प्रतिशत योग्दान पुर्याइरहेको छ।

यस समूहलाई अझ उपयुक्त कार्यक्रम तर्जुमा गरी परिवार नियोजनको गुणस्तरीय सेवा विस्तार गर्न सकेको खण्डमा बढ्दो असुरक्षित गर्भपतनलाई सुरक्षित र व्यवस्थित गर्न सहयोग पुग्ने देखिन्छ।गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सबैमा पुर्याइ गर्भपतनलाई न्यूनिकरण गर्नु पहिलो प्राथमिकता हो, तर अपेक्षाअनुसार भइरहेको छैन।

गर्भपतनको अधिकार महिलाको मानव अधिकार हो, महिला तथा युवतीहरूलाई बच्चा जन्माउने वा नजन्माउने, कहिले र कतिजना जन्माउनेजस्ता सवालमा उनीहरूले नै स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने अधिकार महिलाको अधिकार हो। तर अधिकारको नाममा गर्भपतनलाई परिवार नियोजनको माध्यम बनाइनुहँुदैन। कानुनले कुन–कुन अवस्थामा हामीलाई गर्भपतन गराउने अधिकार दिइरहेको छ।

परिवार नियोजन सेवा र सूचनाको विस्तार गर्न नसक्नु, सेवामा पहुँच भएकाहरूबाट लापरबाही हुनु अनि बारम्बार गर्भपतन गराइरहँदा कानुनले दिएकोे अधिकारलाई हामी दिनदिनै दुरूपयोग गरिरहेका छौं। कानुन बनाउनु र त्यसको प्रभावकारी कार्यान्वयन उत्तिकै महत्वपूर्ण हुन्छ। यौन तथा प्रजनन् अधिकारसम्बन्धी नीतिनिर्माण गर्ने कार्यमा नेपाल दक्षिण एसिया देशहरूमा प्रगतिशील मानिन्छ तर कार्यान्वयनको पक्षमा कमजोर।

सुरक्षित गर्भपतनको कानुन बन्यो विसं. २०५९ सालमा तर हालसालैको तथ्यांक ९ल्म्ज्क् द्दण्ज्ञट० हेर्ने हो भने ५९ प्रतिशत महिलाहरूलाई गर्भपतनले कानुनी मान्यता पाएको थाहा नै छैन, अनि कसरी हुन्छ गर्भपतन सुरक्षित। गर्भपतनको कानुनी मान्यताको सूचनाको अभावमा आज पनि ५८ प्रतिशत गर्भपतनहरू असुरक्षित भइरहेको पाइन्छ। कानुन बनेको १७ वर्षमा पनि ५८ प्रतिशत गर्भपतन असुरक्षित हुनु भनेको कानुनै नभएको आभास हुनु हो।

परिवार नियोजनको सेवालाई विस्तार गर्न सकेमा असुरक्षित गर्भपतनबाट हुने मृत्यु र जोखिमतालाई न्यूनिकरण गर्न सकिन्छ भने १० प्रतिशत बालमृत्युदर र ३० प्रतिशत मातृमृत्युदर रोक्न सकिने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाइसकेको छ। तर नेपालमा अझै पनि परिवार नियोजन सेवाको विस्तार अपेक्षाअनुसार हुन सकेको छ्रैन।

हाल आधुनिक परिवार नियोजन सेवाको प्रयोग दर ४२.८ प्रतिशत रहेको भए तापनि अझै पनि प्रजनन् उमेरका २३.७ प्रतिशत महिलाहरूले परिवार नियोजन सेवा प्रयोग गर्न चाहेर पनि सेवा प्राप्त गर्न सकेका छैनन्। अर्कोतर्फ गर्भपतन सेवालाई सुलभ र सुरक्षित पार्न विगत दुई वर्षदेखि गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको दिन, आश्विन १० गतेलाई नेपाल सरकारले सुरक्षित गर्भपतन दिवसका रूपमा मनाउँदै यो सेवालाई निःशुल्क गर्दै आइरहेको।

यद्यपि गर्भपतनको कानुनी मान्यताका बारेमा सूचना पुर्याउन नसक्नु, सेवा र सेवाकेन्द्रहरूको बारेमा जानकार गराउन नसक्नु, परिवार नियोजनको आधुनिक साधनहरूको विद्यमान अपरिपूर्त आवश्यकतालाई पुरा गर्न नसक्नु, विशेष गरी किशोरावस्थामा प्रवेश गर्दै गरेका युवा समुदायको ३४ दशमल्लव ९ प्रतिशत अर्पूत मागलाई सम्बोधन गर्न नसक्नु, आधुनिक परिवार नियोजन प्रयोगकर्ताहरूको संख्या विगत १० वर्षदेखि बढाउन नसक्नु, परम्परागत परिवार नियोजन प्रयोगकर्ताहरूको संख्या बढ्दै जानु, औषधि पसलबाट धमाधम मापदण्डविपरीत गर्भपतनका औषधिहरू बितरण गरिनु अनि सरोकार निकायहरूबाट त्यसको अनुगमन र कारबाही नगरिनु र छोराको चाहनामा बारम्बार गर्भपतनका लागि बाध्य गराइनु नै असुरक्षित गर्भपतनका मुख्य आधारहरू हुन्।

त्यस्तै अर्को मुख्य आधारशीला हो हाम्रो स्कुलको पाठ्यक्रम। उमेरअनुसारको यौनिकता शिक्षालाई बृहत रूपमा विद्यालयका पाठ्यक्रमहरूमा समावेश गराउन नसक्नु, अनि समावेश गरिएका केही विषयवस्तुलाई पनि शिक्षक शिक्षिकाले खुलेर पढाउन नसक्नु।

किशोरकिशोरीले उनीहरूको उमेरअनुसारको जीवन उपयोगी शिक्षा र सूचना स्कुलका पाठ्यक्रमबाट नै पाउन सकेको भए स्कुलकैे पोशाकमा गर्भपतनका लागि आउने यस्ता किशोरीहरूको संख्या कम हुँदै जाने थियो होला।

तसर्थ यौन तथा प्रजनन् स्वास्थ्य र यौनिकता विषयलाई जीवन उपयोगी शिक्षाका रूपमा विद्यालय शिक्षा तथा उच्च शिक्षामा समावेश गर्दै दिगो रूपमै यस्ता समस्याहरूको समाधान गरिनुपर्दछ।
(लेखक : नेपाल परिवार नियोजन संघका एड्भोकेसी फोकल हुनुहुन्छ )नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्