विवादास्पद राजदूत लक्की शेर्पा अहिले कहाँ छिन् ?



काठमाडौँ:  विवादास्पद राजदूत लक्की शेर्पा अहिले कहाँ छिन् ? यसबारे जानकार हुनुपर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बेखबर छन् ।नेकपाका अध्यक्षद्वयले ‘राजीनामा दिएर छानवीनलाई सहज बनाउनु’ भनी दिएको निर्देशनपछि हो, लक्की एक्कासी सार्वजनिक सम्पर्कबाहिर रहेको ।

नत्र, एउटा देशको लागि तोकिएको राजदूत सम्बन्धित देशमा भए त्यहाँको विदेश मन्त्रालयसँग, आफ्नो देशमा भए सम्बन्धित मन्त्रालयसँग नियमित सम्पर्कमा रहनुपर्छ । तर, लक्की अहिले न परराष्ट्रको सम्पर्कमा छिन्, न उनको पार्टी नेकपाकै जानकारीमा ।

राजीनामा दिइस्केपछि हैसियत फेरिने, बरबुझारथ गर्न जाँदा सामान्य हैसियतामा जानुपर्ने, उता उजसरी दर्ता भएको अवस्थामा यताको पद छाडेर जाँदा कूटनीतिक उन्मुक्ति ‘डिप्लोमेटिक इम्युनिटी’ नपाइने, बयान दिन प्रहरी चौकी र अदालत धाउनुपर्ने, उस्तै परे समातिन सक्नेजस्ता उप्ठेरो पार्टी अध्यक्षलाई सुनाएकी थिइन् ।

अष्ट्रेलियन प्रहरीले पदीय हैसियतमा रहुन्जेल नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन । त्यसैले उनी एकचोटी पदमा रहेकै बेला अष्ट्रेलिया पुगेर फर्किने चाहना रहेको बताइन्छ । यही जटिलताका कारण लक्कीले राजनीनामा दिने कहिले ? वा मन्त्रिपरिषद् बैठकले उनीबारे केही न केही निर्णय लिने कहिले ? टुंगो छैन । तर, अष्ट्रेलियाको राजदूत बन्नको लागि बिहान–बिहानै नेताकहाँ देउसी खेल्नेहरु निस्किसके ।  संसदका महासचिव मनोहरप्रसाद भट्टराई तीमध्येका प्रमुख दाबेदार हुन् । 

प्रतिक्रिया दिनुहोस्