पूर्वमन्त्री तथा ठेकेदार विक्रम पाण्डे ४ करोड धरौटीमा रिहा



काठमाडौँ :  विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा छुटेका हुन्।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेसित ४ करोड धरौटी माग्ने निर्णय गरेको हो। पाण्डेले रकम नबुझाए पनि ग्लोबल आईएमई बैंकको ग्यारेन्टीपत्र राखेर धरौटीमा छुटेको जानकारी अदालत स्रोतले दिएको छ।

विशेष अदालतले अख्तियारको फरार सूचीमा रहेका पाण्डेलाई अदालतमा हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो। उनी म्यादभित्रै बुधबार अदालतमा हाजिर भएका हुन्।

सिक्टा सिँचाइ आयोजनाको नहर निर्माण गुणस्तरहीन भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ मा कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसहित सिक्टा सिँचाइ आयोजनाका अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।

अख्तियारले अभियोगपत्रमा पाण्डेलाई दुई वर्ष कैद सजाय र २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिँचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो।

गुणस्तरहीन निर्माणका कारण नहरमा अहिलेसम्म गरिएको लगानी शून्य अवस्थामा पुगेको ठहर अख्तियारको रहेको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्