नयाँ आईजीपीले फुली लाउँदै गर्दा निवर्तमान आईजीपीलाई मुद्दा



काठमाडौं : नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले सिंहदरबारमा फुली लाउँदै गर्दा निवर्तमान आईजीपी सर्वेन्द्र खनालमाथि काठमाडौं जिल्ला अदालतले वारिसपत्र थमाएको छ ।

गत मंरिसमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को रिपोर्टिङका लागि दशरथ रंगशाला पुगेको नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईँलाई प्रहरीले कुटपिट गरेको घटनामा आईजीपी खनालसहित अन्य प्रहरी अधिकारीलाई विपक्षी बनाई मुद्दा दर्ता भएको थियो । पत्रकार चापागाईँले प्रहरीमा निवेदन दर्ता गर्न खोजेपनि त्यो बेला प्रहरीले मुद्दा दर्ता नगरेपछि जिल्ला अदालत काठमाडौंमा दर्ता गरेका थिए ।

यसरी दर्ता भएको निवेदनउपर कारबाही चलाउँदै आज (बुधबबार) काठमाडौं जिल्ला अदालतले वारिस जारी गरेको हो । उता नेपाल प्रहरीको आईजीपीबाट बिदा हुँदै गर्दा खनालको बिदाइ कार्यक्रममा थोरै मात्र प्रहरी अधिकारीहरु उपस्थित भएका थिए । खनालको बिदाईमा २१ मध्ये १६ प्रहरी अधिकारीले महानिरीक्षकको बिदाई कार्यक्रम नै बहिष्कार गरेका थिए । आईजीपी खनालको भन्दा एआईजी पुष्कर कार्कीको बिदाई कार्यक्रम भव्य देखिएको थियो ।

महानिरीक्षक खनालको बिदाई कार्यक्रम तीनै एआईजीले बहिष्कार गरेका थिए । त्यसमध्ये एआईजी पुष्करसँग आईजीपी खनालको सम्बन्ध राम्रो थिएन । खनालको बिदाईमा उनकै निक भनिएका ठूले राई नै गएनन् । प्रहरी मुख्यालयकै धेरै डीआईजीहरु आफ्नो विभागबाट बिदाई भएर घर गएका थिए । यो घटनाले प्रहरी महानिरीक्षक खनालको नेतृत्व कति कमजोर रहेछ भन्ने देखाएकोे प्रहरी अधिकारीहरु बताइरहेका छन् ।

यो कुराले प्रहरी मुख्यालयलाई समेत तताएको छ । एआइजी कार्की, डीआईजी पिताम्बर अधिकारी, डीआईजी दीपक थापा तथा सुरज केसीको बिदाई भने कार्य तथा अपराध अनुसन्धान विभागमा भव्य भएको थियो । डीआईजी पिताम्बर अधिकारीले त अवकाशपछि सांकेतिक रुपमा खनालको चर्को अलोचना समेत गरेका छन् । उनले फेसबुक र ट्वीटरमा लेखका छन्– ‘अब नेपाल प्रहरी व्यवसायिक बनोस्, दलालहरुको ब्यूहमा नफसोस्, दलाल साम्राज्यवाद मूर्दावाद ।’

हिजो (मंगलबार)बाट प्रहरी महानिरीक्षक खनालसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत तथा प्रहरी नायव महानिरीक्षकहरु मनोज न्यौपाने, सुरेश बिक्रम शाह, केदार रिजाल, शेर बहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, दान सिंह बोहोरा, राम प्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्ण चन्द्र जोशी, हरिभक्त प्रजापति र राजेन्द्र मान श्रेष्ठले अवकाश पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्