नयाँ मर्यादाक्रममा जनप्रतिनिधि हाबी



काठमाडौं: सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ ।

प्रधानन्यायाधीशसँगै सभामुख र अध्यक्ष

सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ । 

पाँचौँ नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्षलाई राखिएको छ । यसअघि पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैटौँमा थिए भने पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सातौँमा थिए ।

प्रदेश प्रमुखको दुईवटा वरीयता

प्रदेश प्रमुखको मर्यादाक्रमम प्रदेशभित्रै छैटौँ र प्रदेशबाहिर सातौँ तोकिएको छ । यसअघि प्रदेश प्रमुखको वरीयता सातौँ नम्बरमा थियो । प्रदेश सरकारका मुख्यमन्त्रीको बरीयता भने तलमाथि गरिएको छैन । पहिलेझँै मुख्यमन्त्रीको वरीयता सातौँ नै कायम गरिएको छ । 

मुख्यसचिवभन्दा प्रदेश सभामुख अगाडि

प्रदेश सभामुखलाई आठौं नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ । यसअघि प्रदेश सभामुख १०औँ र मुख्यसचिव नवौँ वरीयतामा थिए । प्रदेश उपसभामुखलाई नवौँ वरीयतामा राखिएको छ । प्रदेशका मुख्यसचिव १२औँ वरीयतामा छन् । यसअघि ११औँ वरीयतामा थिए । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद र प्रदेशका मन्त्रीलाई १०औँ वरीयतामा राखिएको छ । 

मुख्यसचिवभन्दा महासचिव र मुख्य रजिस्ट्रार पछाडि

पुरानो मर्यादाक्रममा कार्यपालिकाका मुख्यसचिव, व्यवस्थापिकाका महासचिव र न्यायपालिकाका मुख्य रजिस्ट्रार एउटै वरीयतामा थिए । तर, नयाँ मर्यादाक्रमअनुसार मुख्यसचिव नवौँ वरीयतामा छन् भने महासचिव र मुख्य रजिस्ट्रार ११औँ नम्बरमा धकेलिएका छन् । 

काठमाडौं र अन्य महानगरका मेयरको वरीयता अन्तर

१५औँ वरीयताबाट महानगरपालिकाको मेयरलाई १०औँमा ल्याइएको छ । तर, काठमाडौं महानगरपालिाकाका मेयरलाई भने नवौँ वरीयता दिइएको छ । यसअघि १५औँँ वरीयतामा रहेका जिसस प्रमुखलाई १०औँमा ल्याइएको छ ।

स्थानीय तहका प्रमुख अगाडि सरे

नगरपालिकाको मेयरलाई १४औँ वरीयतामा राखिएको छ । यसअघि २०औँ नम्बरमा राखिएको थियो । त्यस्तै, गाउँपालिका अध्यक्ष यसअघि २१औँ रहेकामा नयाँ मर्यादाक्रममा १५औँ नम्बरमा ल्याइएको छ ।

 

सचिवलाई पछाडि धकेल्दै अघि बढे जनप्रतिनिधि 

२६ माघ ०७४ मा सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा संघीयता सरकारका सचिवलाई ११ औं वरीयतामा राखिएको थियो । सो मर्यादाक्रममा सचिवभन्दा पछाडि प्रदेश सरकारका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, प्रदेश सभा सदस्य, प्रदेश सरकारका सहायकमन्त्री, महानगरपालिकाका मेयरलाई राखिएको थियो । तर, नयाँ मर्यादाक्रममा भने यी सबै जनप्रतिनिधिलाई सचिवभन्दा अगाडि ल्याइएको छ । हाल सचिवलाई १२औैँ वरीयतामा राखिएको छ । संघीय सरकारका सचिवसरह उपमहानगरपालिकाका मेयर, प्रदेश सरकारका मुख्यसचिवलगायतलाई राखिएको नयाँपत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्