‘अप्पन जनकपुर, सुन्दर जनकपुर’ बनाउने अभियानमा जुटौं : पूर्वमन्त्री महासेठ



जनकपुरधाम : पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले ‘अप्पन जनकपुर,सुन्दर जनकपुर’ बनाउने अभियानमा जुट्न सम्पूर्ण जनकपुरवासीलाई आग्रह गरेका छन् ।

बुधबार जनकपुरधाममा होटेल भान्सा घर फ्यामली रेष्टुरेन्ट पार्टी प्यालेश एण्ड गेष्ट हाउसको उदघाटन गर्दै पूर्वमन्त्री महासेठले विगतमा जनकपुरधामप्रतिको सकारात्मक सोंचमा कमी आएकोमा चिन्ता व्यक्त गर्दै पुनः सकारात्मक सोंचका साथ अघि बढनुपर्ने आवश्यकता रहेको बताए ।

उनले यहाँका होटेल सञ्चालकहरुलाई सस्तो तथा गुणस्तरीय सेवा दिएर ग्राहकको मन जित्न आग्रह समेत गरेका छन् । पूर्वमन्त्री महासेठले जनकपुरधाम प्रदेशको राजधानी हुने पक्का जस्तै भएकाले यस ठाउँमा अझै १०–२० वटा नयाँ पार्टी प्यालेस स्थापना भएपनि सबैको व्यापार राम्ररी सञ्चालन हुने दाबी गरे ।

साथै उनले जनकपुरधामको होटल तथा रेष्टुरेन्टहरु अवेर रातिसम्म सञ्चालन गर्ने वातावरण मिलाउनका लागि स्थानीय प्रशासनसँग आग्रह समेत गरे । साथै उनले पहिलो पटकमै ग्राहकसँग बढी रकम लिने साेंचमा परिवर्तन ल्याउन पनि जनकपुरधामका व्यापारीहरुलाई आग्रह गरे ।

अप्पन जनकपुर,सुन्दर जनकपुर बनाउनका लागि आग्रह गर्दै सञ्चारकर्मीलाई सकारात्मक साेंचका साथ समाचार प्रवाह गर्न पनि निवेदन गरे ।

जनकपुरधामको रामानन्दचोकमा आकर्षक तथा भव्य व्यवस्थापन सहित सञ्चालकद्धय सुरेन्द्र भण्डारी र शंकर साहले होटेल भान्सा घर फ्यामली रेष्टुरेन्ट पार्टी प्यालेश एण्ड गेष्ट हाउस सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्