के हो मौसमी रुघाखोकी ?
अहिले जाडो मौसम चलिरहेको छ । यद्यपि, मौसम परिवर्तनका संकेत पनि देखिएका छन् । पछिल्लो समय विशेषगरी राजधानी उपत्यकामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) लाग्नेको संख्या बढ्दो छ । यसलाई कतिपयले सुँगुरबाट सर्ने स्वाइनफ्लु भनेर प्रचार गरे पनि खासमा यो सिजनल इन्फ्लुएन्जा नै हो । यो मानिसबाट मानिसमा सर्ने एक किसिमको सरुवा रोग हो । यो कुनै नयाँ रोग नभई श्वास–प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीव्रखाले संक्रमण हो ।
कसलाई बढी जोखिम ?
यो रोग प्रायः सामान्य रुघाखोकीका रूपमा देखा पर्छ र यी लक्षण केही दिनमा आफैँ हराएर जान्छन् भने केही मानिसमा जटिलता पनि देखा पर्न सक्छ । विशेषगरी, गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका बूढाबूढी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू र दीर्घरोगबाट प्रभावितहरूमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्यमा भन्दा बढी हुन्छ ।
लक्षण र चिह्न
-३८ डिग्री सेल्सियसभन्दा बढी ज्वरो आउने ।
-खोकी लाग्ने, घाँटी दुख्ने ।
-हाच्छिऊँ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने ।
-टाउको दुख्ने, आलस्य हुने ।
-हाड–जोर्नी दुख्ने र मांसपेशी दुख्ने ।
बालबालिकामा देखिन सक्ने थप लक्षण
-वाकवाकी लाग्ने वा बान्ता हुने ।
-पेट मडारिने ।
-झाडा–पखाला लाग्ने ।
बच्ने उपाय
-खोक्दा वा हाच्छिऊँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा वा पाखुराले) ।
-साबुनपानीले पूरै सफा हुने गरी पटक–पटक हात धुने ।
-हात नमिलाउने, नमस्कार गर्ने ।
-दूरी कायम गर्ने (अन्य व्यक्तिसँग कम्तीमा १ मिटर वा २ हात टाढा रहने) ।
-रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने ) ।
-आँखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने । जथाभावी नथुक्ने वा सिँगान नफाल्ने ।
-शंकास्पद रोगीबाट सकभर टाढै बस्ने, बाहिर हिँड्दा अनिवार्य माक्स लगाउने ।
-रुघाखोकी लागेका व्यक्तिले ३–५ दिनसम्म घरमै आराम गरेर बस्ने ।
-रोगीलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दाल, तरकारी र गेडागुडीको झोल आदि खुवाउने ।
-चुरोट–रक्सी नखाने ।
-दूध चुस्ने उमेरका बच्चालाई साबिकबमोजिम नियमित स्तनपान गराउने ।
-नयाँ पत्रिकाबाट