कालो धन छानबिन गर्न कमल थापाको माग



काठमाडौं :  राप्रपाका अध्यक्ष कमल थापाले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा लुकाइएको कालोधनको छानबिन गर्न माग गरेका छन् । आज बिहान ट्विट गर्दै थापाले कालोधनको छानबिन गर्न माग गरेका हुन् ।

उनले भनेका छन्, ‘गैरकानुनी रुपले विदेशी बैंकहरुमा लुकाइएको कालोधनबारे सरकार र सम्बद्ध निकायले तत्काल छानबिन गरोस् । शंकास्पद व्यक्ति/संस्थाको बैंक खाता तत्काल रोकियोस् । संसदले यस विषयमा सशक्त कदम उठाउनुपर्छ । अवैध सम्पति जफत गर्न र अपराधीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दह्रो कदम चाल्ने आशा गर्दछु ।’ 

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको अनुसन्धानबाट ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको थियो।

विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी /व्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन्। केहीको ठेगाना खुल्न सकेको छैन। नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटिएको छ । 

यस्तो छ थापाको ट्विट : 

गैरकानुनीरुपले बिदेशी बैंकहरुमा लुकाईएका कालोधनवारे सरकार र सम्बद्ध निकायले तत्काल छानविन गरोस्।शंकास्पद व्यक्ति/संस्थाको बैंकखाता तत्काल रोकियोस्।संसदले यस विषयमा सशक्त कदम उठाउनु पर्छ।अवैध सम्पत्ति जफतगर्न र अपराधीलाई कार्वाहीगर्न प्रम @kpsharmaoli ले दह्रो कदम चाल्ने आशा गर्छु

प्रतिक्रिया दिनुहोस्