नेपाली सेनासम्बन्धी बृहत प्रदर्शनी प्रारम्भ



काठमाडौं : नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा ३ दिने बृहत प्रदर्शनी प्रारम्भ भएको छ ।

जङ्गीअड्डा परिसरमा नेपाली सेनाले आयोजना गरेको प्रदर्शनीको बलाधिकृत रथी शरदकुमार गिरीले आज उदघाटन गरे । प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर आफ्नो जिम्मेवारी निर्वाहका क्रममा नेपाली सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्वीर तथा नेपाली सेनाका हातहतियार, ऐतिहासिक एवं हालका उपकरण, पोशाक र सैन्य सामग्री समावेश गरिएको छ ।

प्रदर्शनीमा काठमाडौं उपत्यकाका शैक्षिक प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै सर्वसाधारणलाई नि : शुल्क प्रवेशको व्यवस्था गरिएको छ । आम नागरिकले नेपाली सेनालाई नजिकबाट चिन्ने र नेपाली सेनाप्रतिको सकारात्मक भावना अभिवृद्धि गर्ने लक्ष्यसाथ उनीहरूलाई प्रदर्शनीमा आमन्त्रण गरिएको छ ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने संवैधानिक जिम्मेवारी तथा नेपाल सरकारबाट प्राप्त कानूनसम्मत निर्देशन विश्वसनीय रूपमा पूरा गर्दै आएको बताए ।

प्रदर्शनी अवलोकन गर्न काठमाडौं महानगरपालिकाका उपप्रमुख, राजधानीस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, पुरातत्व विभाग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लगायत संघ संस्थाका प्रमुख तथा पदाधिकारी जङ्गी अड्डा पुगेका थिए ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा उक्त निर्देशनालयको संयोजनमा आयोजित प्रदर्शनी तेस्रो संस्करणको हो । विगत ३ वर्षदेखि सेना दिवसको अवसर पारेर हरेक वर्ष यस्तो बृहत प्रदर्शनी हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्