यसरी तानिँदै छन् भ्रष्टाचार मुद्दामा पूर्वप्रधान सेनापति



काठमाडौं : नेपाली सेनाका पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीमाथि छानबिन गर्नका लागि संघीय संसदको राज्यव्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिको आज (बिहीबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । क्षेत्री प्रधान सेनापति भएका बेला विभिन्न आर्थिक गतिविधिमा अनियमितता भएको विषयमा छानविन गर्नको लागि निवेदन आएपछि समितिले अध्ययन गर्नको लागि राज्यव्यवस्थाको समितिको उपसमितिले प्रस्ताव गरेअनुसार क्षेत्रीलाई छानविनका लागि अख्तियारलाई निर्देशन दिएको हो । उपसमितिमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडु, नेकपाका रेखा शर्मा र नवराज सिलवाल थिए सदस्यह रहेका थिए । उनीहरुले दिएको अध्ययन प्रतिवेदनअनुसार पूर्वप्रधान सेनापति क्षेत्रीका बारेमा परेको मुद्दालाई अख्तियारमा छानविनका लागि पठाउने निर्णय भएको श्रोतले बताएको छ ।

क्षेत्री पदमै हुँदा उनले गरेको भ्रष्टाचार बारे यसअघि संघीय संसदमा नेकपाका युवा नेता तथा सांसद महेश बस्नेत, सांसद हृदेश त्रिपाठी लगायतले प्रश्न उठाएका थिए । क्षेत्रीले फास्ट ट्रयाकको ठेक्काबाट ४ अर्ब रुपैयाँभन्दा बढि र सेनाले दिने विभिन्न ठेक्का पट्टा, तथा खरिदबाट ६ अर्ब बढि कमिसन खाएर अकुत सम्पत्ति जोडेको आरोप लागेको छ । उनी हाल अमेरिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्