किन हटेन उपत्यकावासीको सास्ती ?



काठमाडौं:  खाल्टाखुल्टी, धुलो धुवाँ र ट्राफिक जाम काठमाडौंंको पर्यायजस्तै बन्दै गइरहेको छ । राजधानीका अधिकांश स्थानमा हिड्दा मुख छोपेर हिड्नुपर्ने वर्षांैदेखिको वाध्यताबाट उपत्यकावासी हैरान छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेको धुलो ब्रुमर लगाएर तत्काल हटाउने घोषणा गरेको महिना दिन बितिसक्दा पनि उपत्यकाका अधिकांश स्थान धुलोमय नै छन् ।

राजधानीको प्रमुख केन्द्र मानिने ठमेल आसपास र लैनचोर क्षेत्र, सोह्रखुटे, बालाजु, गोंगबुलगायत अधिकांश क्षेत्र दिनभर धुलोमय बन्ने गर्छन् । ‘प्रधानमन्त्रीको ब्रुमरले धुलो तान्ने योजना बोलीमा नै सीमित भएको छ, हामी धुलोले वाक्कदिक्क भइसकेका छौं,’ लैनचौरका स्थानीयवासी हरेन्द्र महर्जनले राजधानीसँग भने । महानगरका बासिन्दा भन्न पनि लाज लागेर आउने गरेको महर्जनको दुखेसो छ । उनका अनुसार धुलोधुवाँका कारण बालबालिकामा विभिन्न खाले संक्रमण देखिने क्रम पनि बढेको छ । यस्तै, त्रिपुरेश्वर, महाराजगन्ज, कालीमाटीलगायतका क्षेत्र पनि धुलोमय छ ।

मेलम्ची खानेपानी आयोजनाका कारण खनिएका सडकको मर्मत समयमा हुन नसक्दा सर्वसाधारणले पाउने सास्तीमा कमी नआएको हो । मेलम्ची खानेपानी आयोजनाका पाइप बिछ्याउने क्रममा खनिएका अधिकांश सडकको हालत अझ उस्तै अवस्थामा छन् । राजधानीको ठमेल, क्षेत्रपाटी, सोह्रखुट्टे, नयाँबजारलगायतका क्षेत्रमा यस्ता समस्या लामो समयदेखि उस्तै हालतमा छन् । वर्षौंअघि सुरु भएका आयोजनाका काम अझै खाल्टाखुल्टीकै अवस्थामा रहेका छन् ।

मेलम्ची खानेपानी आयोजनाले पटकपटक सडक खन्ने तर खनिएका सडक समयमै निर्माण नगरिँदा सडक अलपत्र र धुलोमय बनेका हुन् । मेलम्ची खानेपानी, सडक कार्यालय र महानगरको वेवास्ता र ढिलासुस्तीले गर्दा यस्तो समस्या निम्तिएको स्थानीयको गुनासो छ । जसले गर्दा सुख्खा मौसममा धुलो उड्ने तथा वर्षाको समयमा हिलोको समस्या आउने गरेको छ । ठमेल, क्षेत्रपाटी, सोह्रखुट्टे, नयाँबजारलगायतका क्षेत्र समेट्ने काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्ष मुकुन्द रिजालले मेलम्ची खानेपानी आयोजनाले समन्वय नगरी आफूखुसी काम गर्ने गरेकाले गम्भीर समस्या परेको बताए ।

उनका अनुसार आयोजनाका कमजोरीका कारण बनिसकेका सडकसमेत पटकपटक भत्काउने गरिएको छ । लामो समयदेखि विभिन्न समयमा वडाले पटकपटक ध्यानाकर्षण गराउँदासमेत ध्यान नदिएको उनको भनाइ छ । सडकमा भएको बेथिति र मर्मतसम्भारमा भएको ढिलाइका बारेमा डिभिजन सडक कार्यालयले पनि प्रभावकारी रूपमा अनुगमन गर्न सकेको छैन ।

डिभिजन सडक कार्यालयका इन्जिनियर अशोकरत्न शाक्यका अनुसार मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काममा भएको ढिलाइका कारण सडक मर्मत गर्न नसकिएको हो । ‘मर्मत गरे भत्काइहाल्छन् तर काम निकै सुस्त भएकाले मर्मत गर्न सकिएको छैन,’ इन्जिनियर शाक्यले राजधानीसँग भने । उनले मेलम्ची खानेपानीको परीक्षण नहुँदासम्म सडक मर्मत गर्न नसकिने बताए । तर, मेलम्चीको खानेपानी कहिले आउँछ भन्नेमा सरकारी पक्ष आफंै बेखबरजस्तै छ ।

राजधानीको सोह्रखुटेमा ढेड वर्षअघि करोडौं रुपैयाँ खर्चेर बाटो ढलान गरिएको थियो तर अहिले सो बाटो मेलम्चीले खनेर क्षतिग्रस्त बनाइदिएको छ । जसका कारण सो क्षेत्रमा धुलोधुवाँका साथसाथै ट्राफिक जाम पनि अत्यधिक हुने गरेको छ । डिभिजन सडक कार्यालयले कर्मचारी व्यवस्थापन अगाडि बढेकाले छिट्टै काम सुरु गर्न अनुमति दिने तयारी भएको जानकारी दिएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्