एक्लाएक्लै राहत कुम्ल्याउने दाऊ



काठमाडौंः छोरी वियोगको पीडासँगै न्यायको भिख मागिरहेकी दुर्गादेवी पन्तलाई चोटमाथि चोट थपिएको छ । अचेल उनीलाई श्रीमान यज्ञराजले दिनहुँजसो थप तनाव दिन्छन् । वर्षौदेखि बोलचाल बन्दसँगै छुट्एिर बसेका यज्ञराजले पछिल्लो समय पटक–पटक दुर्गादेवीमाथि कुटपिट गरिरहेका छन् । पछिल्लो उनीहरुबीच विवाद बढ्नुको मूल कारण होः सरकारले राहतस्वरुप दिने भनेको १८ लाख रुपैयाँ ।

वियोगको पीडा त छँदै छ, सरकारले दिने राहत रकम चाहिँ किन गुमाउनु ? भन्ने चाहन्छिन्, दुर्गादेवी । तर, राहत रकम सबै निर्मलाकी आमाले लैजालिन् र कान्छी श्रीमती अर्थात् निर्मलाकी सौतेनी आमा रिसाउलिन् भन्ने पिर छ, यज्ञराजलाई । अचेल ‘यज्ञराज आक्रामक हुनुको कारणः छोरीको न्यायका लागि होइन, राहत रकमको बाँडफाँटको विषयले हो’ भन्न थालिएको छ । दिनप्रतिदिन परिवारको स्थिति नाजुक हुँदै गएकोप्रति दुर्गादेवी निकै चिन्तित छिन् । न्याय पनि नपाउने, राहत पनि गुम्ने त होइन ? भन्ने चिन्ता छ, दुर्गादेवीलाई ।

राहत रकमको विषय मात्रै होइन, निर्मलाका बलात्कारी एवम् हत्यारा पत्ता लगाउन प्रहरीले यज्ञराज र दुर्गादेवीको डिएनए परीक्षण गर्न खोज्यो । निर्मलाको तर्फबाट लिइएको नमूनामै शंका भएपछि प्रहरीले बा र आमाको नमूनाबाट डिएनएको क्रस चेक गर्न खोजेको थियो । तर, त्यसका लागि यज्ञराजले रगत दिन मानेनन् । छोरीको हत्यारा पत्ता लाग्ने आशका कारण दुर्गादेवीले डिएनए परीक्षणका लागि नमूना रगत दिइन् । जुन कुरा यज्ञराजलाई मन परेन र दुर्गादेवीमाथि कुटपिट गरे । जसकारण दुर्गादेवी अहिले विक्षिप्त छिन् ।

यज्ञराजले डिएनए परीक्षणका लागि रगत दिन नमान्नुको कारण अनेक शंका उब्जिएको छ । र, घटनालाई थप रहस्यमयी एवम् शंकास्पद बनाएको छ । यज्ञराज र दुर्गादेवीबीच खटपट भएको यो पहिलोचोटि होइन । सम्बन्ध सुमधुर नभएपछि नै यज्ञराजले दोस्रो बिहे गरेका हुन् । दुर्गादेवीका तर्फबाट तीन सन्तान थिए । तीमध्येकी एक हुन्, निर्मला पन्त । बाआमाको विवादले छोरीहरु पहिल्यैदेखि तनावमा थिए । कठिन अवस्थामा पनि बुबाले वास्ता नगरेका कारण सन्तान पीडामा थिए । र, अहिले बाँचेका सन्तानमा पनि पीडा थपिएको छ । 

तर यज्ञराज भने दुर्गादेवीको कुरा पत्याउन तयार छैनन् । न्याय नपाए राहत मात्रै लिएर के गर्नु रु भनेर सामान्य गाली मात्रै गरेको उनको भनाई छ । दुर्गादेवीले परिवारमा सल्लाह नै नगरी अरुको उक्साहटमा लागेर राहत लिन लागेकोप्रति यज्ञराज आक्रोशित छन् । यससँगै निर्मलाकी सौतेनी आमा लक्ष्मी पन्त पनि अ्ररु उक्साहटमा दुर्गादेवी अघि बढेकोले समस्या भएको बताउँछिन् ।

करिब ७ महिना भयो, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको । निर्मला हत्या प्रकरणले देशव्यापी चर्चा पायो । सडकदेखि सदनसम्म हत्यारा पत्ता लगाएर कारबाही माग भयो । तर, अझै तत्काल हत्यारा पत्ता लाग्ने छाँट छैन । तर, निर्मलाका बा–आमाबीच राहत रकम लिने÷नलिने विषयमा चर्को विवाद हुनु, आपसमा कुटाकुट हुनु निकै दुखद कुरा हो । त्यस्तै, प्रहरीले छोरीको हत्यारा पत्ता लगाउन डिएनए परीक्षणका लागि नमूना रगत दिन बुबा यज्ञराजले आनाकानी गर्नु स्वभाविक छैन । यसले घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्