गिरिजालाई जोडेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति आक्रोशित बन्यो कांग्रेस



काठमाडौं : नेपाली कांग्रेसले आफ्ना तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई जोडेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

बिहिबार जनयुद्ध दिवसको अवसरमा नेकपा मुख्यालयमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन सभापति कोइरालालाई जोडेर अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले कोइरालाको विचार पनि आफ्नो विचारसँग मिल्ने भएकाले तत्कालीन माओवादी र सरकारबीच सहमति सम्भव भएको बताएका थिए । उनले गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाउन सल्लाह दिएको उल्लेख गरेका थिए ।

साथै उनले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको समेत खुलासा गरे ।

उनले गरेको यस्तो अभिव्यक्ति झुटो भएको भन्दै नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत भएको उल्लेख गरेका छन् ।

प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद रहेको शर्माले उल्लेख गरे । ‘फौजी आक्रमण अलि बढाइदिनुर्पयो र सदरमुकाम हान्नुर्पयो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो,’ शर्माले विज्ञप्तिमा लेखका छन्, ‘तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ ।’

माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको काँग्रेस स्मरण गराएको छ ।

‘ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो । हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै काँग्रेसले जिम्मेवार अभिव्यक्तिका दिन प्रचण्डलाई सजग गराएका

प्रतिक्रिया दिनुहोस्