निजगढ विमानस्थल सार्न सिफारिस



काठमाडौं: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा घना वनक्षेत्र जोगाउन प्रस्तावित ठाउँभन्दा केही सय मिटर दक्षिणतर्फ बनाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्धअन्तर्गतको उपसमितिले सिफारिस गरेको छ । 

नेकपाका सांसद पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको उपसमितिले निजगढको हवाई र स्थलगत अध्ययनपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेललाई हिजो प्रतिवेदनमा बुझाएको थियो ।

पूर्व प्रधानमन्त्री नेपालले सकेसम्म कम वन मास्ने गरी निर्माण गर्नू भनेर आफुहरुले प्रतिवेदन तयार पारेको जानकारी दिए । निजगढ विमानस्थलसँगै नयाँ सहर बसाउन आवश्यक नरहेको पनि प्रतिवेदनले प्रष्ट पारेको छ ।

‘स्मार्ट सिटी’ का नाममा धेरै वनक्षेत्र मासिने गरी सहर बसाउन नदिनू भनी समितिमा सिफारिस गरिएको नेपालले बताए । विमानस्थल निर्माणका क्रममा २२ लाख रुख काटिने विषय हल्लामात्र भएको भन्दै उनले निकै साना विरुवालाई पनि रुख भनेर संख्या अनावश्यक रुपमा बढाइचढाई गरिएको दाबी गरे । भविष्यमा विमानस्थल विस्तारलाई चाहिने जग्गा भने अहिल्यै अधिग्रहण गर्न उचित हुने उपसमितिको ठहर छ ।

यसैगरी, विमानस्थल निर्माणको मोडल तय गरी यसको निम्ति जिम्मेवार निकाय स्थापना गर्न पनि सुझाएको छ । उपसमितिले निजगढ क्षेत्रको बस्ती सार्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता ठहर गरेको छ । त्यसैगरी उपसमितिले काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने सरकारको प्रस्तावलाई भने स्पष्ट रुपमा अनावश्यक भनेको छ ।

प्रतिक्रिया दिनुहोस्