विपद्का समयमा स्वास्थ्य सेवा पाउन सकिने ‘मोबाइल एप्स’ सञ्चालनमा



काठमाडौं: विपद्का समयमा प्रभावकारी रूपमा तथ्याङ्क सङ्कलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ सङ्घले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ। यसका लागि सङ्घले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षणको काम थालेको छ। विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक सङ्कलन महत्वपूर्ण मानिन्छ।

प्राप्त तथ्याङ्कका आधारमा नर्सिङ सेवा प्रदान गर्न र विपद्का अवस्थामा कसरी सेवा गर्ने भन्ने विषयमा सो टुलकिटले सहयोग पुर्याउने सङ्घका उपाध्यक्ष अप्सरा पाण्डेले जानकारी दिइन्।

टुलकिट कसरी सञ्चालन गर्ने भन्ने विषयमा सङ्घले आफ्ना सदस्यलाई बुधबारदेखि दुई दिने प्रशिक्षणसमेत दिएको छ। टुलकिटको प्रभावकारितामाथि सङ्घले काठमाडौं, सिन्धुपाल्चोक, कास्की र रुपन्देहीमा परीक्षणसमेत गरिसकेको र भूकम्प अति प्रभावित १४ जिल्लामा दुई सयभन्दा बढीलाई टुलकिट सञ्चालनबारे प्रशिक्षण दिइने जनाइएको छ।

विनाशकारी भूकम्पका समयमा प्रभावकारी नर्सिङ सेवा दिएवापत् एक अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाले उक्त सङ्घलाई हालै ‘रिस्क अवार्ड २०१७’ प्रदान गरेको थियो। सो पुरस्कारबाट प्राप्त करीब एक करोड ३२ लाख रुपैयाँ विपद् व्यवस्थापन र नर्सिङ सेवाको थप क्षमता वृद्धि गर्न खर्च गरिने सङ्घकी उपाध्यक्ष पाण्डेले जानकारी दिइन्।

विपद्का समय स्वास्थ्य क्षेत्रको जोखिम न्यूनीकरण गर्न सङ्घले विशेष परियोजना सञ्चालन गर्दै आएको छ। विपद्का उच्च जोखिम रहेका देशले विपद् जोखिम व्यवस्थापन गर्न यस किसिमका टुलकिट प्रयोगमा ल्याउन सक्छन्। जापान, फिलिपिन्स, कङ्गोमा पनि टुलकिट प्रयोगमा लाइएकोे छ। 

प्रतिक्रिया दिनुहोस्