आईजीपी दाजुलाई एसएसपी भाईले सलाम ठोक्दा…



काठमाडौं : समाजमा विभिन्न घटनाहरु हुने गर्छन । यी घटनाहरु कतिपय रोचक पनि हुन्छन् भने कतिपय संयोग । हो यस्तै संयोग जुटेको नेपाल प्रहरीमा । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई उनका भाई एसएसपी श्याम ज्ञवालीले सलाम ठोकेको घटनालाई संयोगको रुपमा लिन सकिन्छ ।

केही समयअघि छिमेकी देश भारतमा आफ्नै छोरा आफूभन्दा माथिल्लो पोष्टमा पुगेपछि बुबाले हाकिम मान्दै छोरालाई सलाम गरेको कुराले चर्चापरिचर्चा पाएको थियो ।

यस्तै संयोग जुर्नेमध्ये एक हुन आईजीपी र एसएसपी ज्ञवाली दाजुभाई पनि । एसएसपी ज्ञवालीले आफूले दाईलाई सलाम ठोक्दाको क्षणलाई संयोग मात्रै नभई गौरवको विषय भएको प्रतिकृया दिएका छन् । उनले दाई आईजीपी भएपछि सेल्युट गर्दा निशब्द भएको र एक्कासी आँखाबाट आँशु झरेको बताए ।

आफूलाई अभिभावकत्व प्रदान गर्दै आएको दाई नेपाल प्रहरीको सबैभन्दा सर्बोच्च पद आईजीपी बनेको क्षणलाई शब्दमा बर्णन गर्न नसक्ने बताएका छन् । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवाली बुधबार गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिन्ह प्राप्त गरेपछि पदभार ग्रहण र स्वागत कार्यक्रमका लागि प्रहरी प्रधान कार्यालय पुगेको थिए ।

त्यस अवसरका प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेपछि प्रहरीको अधिकारीहरुले सलाम ठोक्दै पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । त्यसैमेसोमा उनका भाई एसएसपी श्याम ज्ञवालीले सालम ठोक्दा सबैको नजर त्यही पुगेको थियो । त्यो सलाम लिने र दिनेको अनुहारमा गर्वको भाव देखिएको थियो ।

यसरी सलाम ठोक्ने भाई र सलाम खाने दाईको आँखा जुधाईले धेरैको ध्यान समेत तान्न सफल भएको थियो । एउटै आमाको कोखबाट जन्मिएका माइला छोरा ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक बनेका छन् भने कान्छा छोरा श्याम ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपीमा कार्यरत छन् । उनीहरुका जेठो दाइले व्यापार गर्छन् भने साइँलो दाइको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्