राजपामा विवादै विवाद, जिल्ला–जिल्लामा समानान्तर समिति



काठमाडौं : ६ वटा पार्टीहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका नेताहरुबीच सत्तामा जाने बहस चलिरहँदा जिल्लाजिल्लामा भने विवादै विवाद देखिएको छ । २०७४ बैशाख ७ गते पार्टी एकता भएपछि महाधिवेशन गर्ने तिथि पटक–पटक सार्दै आएका राजपाका नेताहरुबीच गत कात्तिक ८ गते जिल्ला तहमा तदर्थ समिति बनाउने निर्णय गरेका थिए । गत कात्तिक ८ गते बसेको अध्यक्ष मण्डलको बैठकले जिल्ला तहसम्म तदर्थ समिति बनाउने निर्णय गर्दै तदर्थ समिति गठन निर्देशिका २०७६ पारित गरेको थियो ।

एकातिर संघीय सरकारमा सहभागी हुने विषयले अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद बढ्दै जादा ध्रुवीकरण बढिरहेको छ भने अर्कातिर आगामी महाधिवेशनपछि को अध्यक्ष भन्ने विषय पेचिलो बन्दै जादा पटक–पटक महाधिवेशनको तिथि स्थगित हुँदै आएको छ । आगामी महाधिवेशनपछि एकल नेतृत्वमा जाने निर्णय गरिसकेको राजपाले आगामी महाधिवेशनमा नेतृत्व हत्याउने विषयमा नेताहरुबीच दाउपेच शुरु भएको छ । जसका कारणले महाधिवेशन हुन सकिरहेको छैन । यस्तो पृष्ठभूमिमा वडा, पालिका,क्षेत्र र जिल्लामा तदर्थ समिति गठन प्रकृया अगाडी बढाईएको छ ।

जिल्लामा आफ्नो पकड जमाउन केन्द्रीय नेताहरु नै उत्रिएका छन् । यस कारणले जिल्ला जिल्लामा विवाद हुनका साथै आ–आफ्नो पक्षका नेतालाई नेतृत्व दिन नेताहरु जुटेका छन् । जसले गर्दा जिल्ला जिल्लामा विवाद सिर्जना भएको छ ।अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव कार्यकर्ताहरुलाई एकजुट बनाउनुपर्ने आवश्यकता बोध गर्दै जिल्ला तहमा नेतृत्व निर्माणको प्रकृया अगाडी बढाईएको बताउँछन् ।

२०७४ वैशाख ७ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, अनिल झाको नेपाल सद्भावना पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), महेन्द्रराय यादव नेतृत्वको तराईरमधेस सद्भावना पार्टी र सरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीबीच एकीकरण भएर राजपा बनेको घोषणा भएको थियो। अहिलेसम्म एकीकरण पूर्वका ६ पार्टीका अध्यक्ष सम्मिलित अध्यक्ष मण्डलले राजपा चलाइरहेको छ । अब हुने महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय पार्टीको गत वैशाख ८ देखि ११ गतेसम्म बसेको पदाधिकारी समितिले गरेको छ।

केन्द्रको निर्देशनअनुसार पार्टीको प्रभाव रहेका ५३ जिल्लामा संगठन निर्माणमा राजपा जुटिरहेको छ । राजपाका पकड मानिने मधेसका जिल्लामा विवाद बढेको छ । एउटा जिल्लामा फरक–फरक नेताले फरक–फरक ब्यक्तिलाई च्याप्दा विवाद उत्पन्न भएको बताईन्छ । एउटै पार्टी भएपनि स्वयम् अध्यक्ष मण्डलका सदस्यहरु पूर्व पार्टी र आफूनिक ब्यक्तिहरुलाई नेतृत्वमा ल्याएर आफ्नो पकड जमाउन चाहन्छन् । यही कारणले विवाद बढ्दै जाँदा विभिन्न जिल्लाहरुका समानान्तर समिति बनेका छन् । समानान्तर समितिहरु बन्ने र विवाद बढ्दै गएपछि राजपाको पकड रहेका मधेसका जिल्लाहरुमा अधिवेशन हुन समेत सकेको छैन ।

यसैबीच विवादपछि रौतहटमा तीनवटा समानान्तर समिति घोषणा भएका छन् । त्यहाँ राजपाका रामप्रवेश दास, शेख जम्सेद र लिला साहले छुट्टाछुट्टै समिति बनाएका छन् । उनीहरुमध्ये दास अध्यक्ष मण्डलका सदस्य भण्डारी, जम्सेद महतो र साह झा समूहका रहेका छन् ।

त्यसैगरी बारा, पर्सा, कपिलवस्तु, बाँके, काठमाडौं र मोरङमा २ वटा समिति बनेका छन्। मोरङमा महतो पक्षका शंकर साह र ठाकुर पक्षका मोहम्मत कहिरले छुट्टाछुट्टै समिति बनाएका छन्।
त्यस्तै राजपाको वर्चश्व रहेको बारामा नवलकिशोर सिंह र धर्मेन्द्र यादवको नेतृत्वमा छुट्टाछुट्टै समिति बनेका छन् । सिंह ठाकुर र यादव राय यादवको समूहका हुन् । पर्सामा राजेशमान सिंह र जगदीश पटेलले छुट्टाछुट्टै समिति बनाएका छन् । सिंह भण्डारी र पटेल महतो समूहका हुन्। कपिलवस्तुमा कैलाश अग्रहरी र कालीपद शर्माले छुट्टाछुट्टै समिति बनाएका छन्। अग्रहरि भण्डारी र शर्मा झा समूहका हुन् ।

यसैगरी बाकककेमा लक्ष्मीनारायण शर्मा र गिरिजा पाठकले छुट्टाछुट्टै समिति बनाएका छन्। शर्मा महतो र पाठक ठाकुर समूहका हुन। काठमाडौंमा अर्जुन रञ्जित र निलकण्ठ महर्जनले छुट्टाछुट्टै समिति बनाएका छन्। रञ्जित ठाकुर र महर्जन महतो समूहका हुन्।

पार्टीभित्र देखिएको विवादका कारण राजपाको पकड रहेका सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, नवलपरासीलगायतका जिल्लामा तदर्थ समिति गठन गर्ने अधिवेशन हुन सकेको छैन ।

राजपा केन्द्रीय कार्यालयका अनुसार झापा, मोरङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा, उदयपुर, कपिलवस्तु, स्याङ्जा, प्युठान, अर्घाखाँची, सल्यान, जुम्ला, सुर्खेत, दैलेख, कालिकोट, दाङ, ललितपुर, नुवाकोट सिन्धुपाल्चोक र काभ्रेमा एकल नेतृत्वमा तदर्थ समिति बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्