नेपाल–भारत व्यापार प्रवर्द्धन गर्न समझदारी



काठमाडौं : नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरी प्रवर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदानप्रदानका विषय समेटिएका छन् । 

‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन द्विपक्षीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनालगायत विषमा समेत सझदारी भएको चेम्बरले जनाएको छ । 

चेम्बरले अन्तर्राष्ट्रिय व्यापार र बहुपक्षीय सम्बन्धलाई विस्तार गर्ने उदेश्यअनुरुप हालसम्म विभिन्न देशका ६६ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसँग समझदारी गरिसकेको छ । 

भारतको नयाँ दिल्लीमा मङ्गलबार भएको उक्त समझदारीमा चेम्बरका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाको तर्फबाट काउन्सिलका उपमहानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेको चेम्बरका निर्देशक हरिप्रकाश चन्दले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्