आलु बरामद



वीरगञ्ज : भारतबाट अवैधरुपमा नेपालतर्फ चार ट्र्याक्टरमा ल्याइरहेको करिव रु पाँच लाख मुल्य बराबर दुई सय क्वीन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले आज बिहान पक्राउ गरेको छ ।

ना६त ६३४९, ना५त ९४२८, ना४त २५०४ र ना५त ८०८६ नंको ट्र्याक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताए । उनले भारतबाट अवैधरुपमा ल्याएर नेपालतर्फ भण्डारण गरी जम्मा गरेर ट्र्याक्टरमा लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए।

बाराको पिपरापातीलगायतका गाउँ आलुखेतीका लागि उर्वरा भूमि भएकाले किसानले लगाएको आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको र सो आलु नेपालमै उत्पादन भएको आलुलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप आलु व्यापारीले लगाएका छन् । पक्राउ गरिएको आलु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बेसक्याम्प बरियारपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्