डेढ वर्षपछि काठमाडौंमै भन्सार जाँचपास सुविधा 



काठमाडौं : अबको डेढ वर्षपछि काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनेछ । यसका लागि चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण गर्ने काम माघ ३ गतेबाट औपचारिक रुपमा सुरु भइरहेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गर्ने कार्यक्रम छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले यस बन्दरगाहको निर्माण गर्न लागेको छ । यो बन्दरगाह निर्माण गर्न आशिष–साक्षी जेभीले जिम्मा पाएको छ । बन्दरगाह निर्माणको स्थानीयले भने विरोध गरिरहेका छन् । उनीहरुले यहाँको जग्गा सरकारले स्थानीयलाई नै फिर्ता गर्नुपर्ने माग गरेका छन् । तर, सरकारले स्थानीयका जायज मागमात्रै सम्बोधन हुने भन्दै निर्माण अघि बढाएको छ ।

यसअघि बन्दरगाह बन्ने स्थानमा हिमाल सिमेन्ट कारखाना थियो । कारखानाले वातावरण प्रदूषण गरेको भन्दै स्थानीयले गरेको विरोधपछि सरकारी सिमेन्ट कारखाना बन्द गर्नुपरेको थियो ।

 

यति बेला बन्दरगाह निर्माणका लागि आवश्यक सबै तयारी भइसकेको छ । यस परियोजनालाई विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको छ । अबको डेढ वर्षभित्र यो बन्दरगाहको निर्माण सक्ने लक्ष्य छ । बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय रहनेछन् ।

बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको छ । यो बन्दरगाह बनाउन २०१० बाटै प्रक्रिया सुरु भएको थियो । बल्ल यसको विस्तृत डिजाइन भएर ठेक्का लागेर काम अघि बढ्न लागेको छ । 

यहाँ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधि सहितको बन्दरगाह निर्माण हुन लागेको छ । कोलकाता, विशाखापटनम र चीनको समुन्द्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको छ । यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउने छ । 

बन्दरगाहको निर्माणपछि सामानको आयात–निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ । यस बन्दरगाहको निर्माण पछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्नेछ । बाहिरी चक्रपथ चोभार भएर जाँदैछ भने काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गलाई पनि यहाँ लिंक गर्ने योजना रहेको छ । यहाँ नै चीन र भारतबाट आउने रेललाई पनि जोड्ने योजना सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्