प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले २ अर्ब अनुदान पठायो



काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ६ सय २३ पालिकालाई २ अर्ब अनुदान पठाएको छ ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कुराको जानकारी दिएको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा दिएको जानकारी अनुसार पालिका स्तरमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना सञ्चालन गर्न आयोजना र बेरोजगारको सूची समेत तयार गरेको पालिकालाई सशर्त अनुदान पठाइएको हो ।

मन्त्रालयका अनुसार आयोजना र बेरोजगारको सूचीको मूल्याङ्कनका लागि कम्तिमा १० लाख देखि बढीमा ७५ लाख रुपैयाँसम्म रकम बाँडफाँड गरी पठाइएको जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि यो आर्थिक वर्षमा ४ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । त्यसमध्ये २ अर्ब ६२ करोड विश्व बैंक ऋण सहयोगबाट प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

कामका लागि पारिश्रमिकमा आधारित कार्यविधि अनुसार पालिकाहरुलाई आयोजना र बेरोजगार संख्याका साथै बजेट समेत अनुमान गरी प्रस्ताव पठाउन अनुरोध गरिएको र त्यसमध्ये ६ सय २३ पालिकाबाट मात्रै प्राप्त भएकाले प्रस्ताव पठाउने पालिकाहरुलाई मात्रै बजेट पठाइएको छ ।

अरु पालिकाले प्रस्ताव पठाएपछि मात्रै बजेट पठाउने र नपुग बजेट सरकारको अन्य स्रोतबाट व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्