मन्त्री साह फेरि विवादमा, कालोमोसो दल्ने आफ्नै पार्टीका नेताद्धारा चेतावनी



जनकपुरधाम : जनताले आफ्नो अमूल्य मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिहरु जनताको अभिभावक हुन् । तर हरेक जनप्रतिनिधिले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्यप्रति इमान्दार नबन्दा समास्या हुने गरेको छ ।

एउटा जनप्रतिनिधिले जनतासँग निरन्तर सम्पर्क र सम्बन्ध स्थापित गर्न सक्नु पर्दछ । आफ्ना हरेक क्रियाकलाप जनताप्रति उत्तरदायी बनाएर जनताको चाहना र भावना बुझ्ने प्रयास गर्नु असल जनप्रतिनिधिको कर्तव्य हो । तर प्रदेश नं.२ सरकारका केही मन्त्रीहरु ठ्याक्कै यसको विपरित क्रियाकलाप गरेको पाइएको छ ।

प्रदेश सरकारले अंगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीति विपरीत मुख्यमन्त्री देखि केही मन्त्रीहरु काम गर्न थालेका छन् । कहिले पत्रकारलाई जुत्ताले हिर्काएर, कहिले मेयरलाई पागल भनेर, मन्त्रालयको कुर्सीमा नै बसेर जथाभावी गालगलौज गरेर त कहिले शिक्षकलाई दलित भनेर हेला गरी पटक पटक विवादित बन्दै आएका प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह यस पटक आफ्नै पार्टीका एक जना नेतालाई औकातको कुरा गरेर विवादमा तानिएका छन् ।

उनले आज (शुक्रबार) राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुलाई अपशब्द प्रयोग गर्दै दुरव्यवहार गरेका छन् । उनले भने,‘आफु लगायत राजपाबाट प्रदेशसभा सदस्य बनेका जानकीशरण साह शुक्रबार दिउँसो मन्त्री साहसँग भेटघाट गर्न उनको कार्यकक्षमा पुग्यौं । मन्त्री साहसँग तपाईं आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएर किन बजेट विनियोजन गर्नुहुन्छ भनेर प्रश्न गर्यो ।’ प्रदेशका सबै जिल्लामा समानूपातिक ढंगले बजेट विनियोजन गर्नुपर्छ भनेर आफुहरुले आग्रह गरेको ज्ञानेन्द्रले बताए । तपाईंको यस्ता कार्यशैलिप्रति प्रदेशका जनताहरु रुष्ट छन्, जनगुनासो बढिरहेको छ, मन्त्रालयहरुमा पारदर्शिता छैन । लगायतका कुराहरु भनिरहदाँ मन्त्री साह एक्कासी आफुमाथि जाई लागेको नेता झाले बताए ।

उनले भने,‘मन्त्री साहले तपाईंको औकाद नै के छ र भनेर मलाई अपमानित गरे ।’ मैले त उनलाई झन जनगुनासो बढेको छ । जनता असन्तुष्ट छन् भनेर कार्यशैलि सुर्धान आग्रह गरेको थिए । तर उल्टै उनी ममाथि नै जाईलागें ।’ कुरा गर्न नजान्नेहरू पनि हाम्रो पार्टीको तर्फबाट मन्त्री भएर घुर्की देखाउनु खेदजनक रहेको उनको भनाई छ ।

नेता झाले यस्ता पात्रहरुलाई मन्त्री पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । उनले यस विषयमा शनिबार पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेका छन् । नेता कार्यकर्ता कै कारण मन्त्री पद पाउने र पदमा गएपछि नेता कार्यकर्तालाई नै गालीगलौज गर्ने यो कस्तो प्रवृति छ ? प्रदेशसभा सदस्य जानकीशरण साहले भने ।

प्रतिक्रिया दिनुहोस्